पनौतीमा सुरु भयो नेचर गाइड तालिम

काठमाडौँ – चराको संरक्षणसँगै पर्यापर्यटनलाई बढावा दिने उद्देश्यसहित काभ्रेको पनौतीमा नेचर गाइड तालिम सुरु भएको छ ।

पनौती नगरपालिकाको आयोजना र पक्षी संरक्षण संघ नेपालको सहयोगमा आइतबारदेखि सुरु भएको पाँचदिने तालिममा सबै वडाका प्रतिनिधिहरु सहभागी छन् ।

नगरपालिकाका १२ वटा वडाबाट कम्तीमा एक–एकजनाको दरमा तालिममा सहभागी रहेको नेपाल पक्षी संरक्षण संघका मोहन श्रेष्ठले जानकारी दिए ।

पनौती नगरपालिकालाई चरा संरक्षित क्षेत्र घोषणा गरिएको परिवेशमा संरक्षणसँगै पर्यापर्यटनमा स्थानीयको सहभागिता बढाउनका लागि नेचर गाइड तालिम गरिएको श्रेष्ठले बताए ।

पनौती नगरपालिका चराका लागि उपयुक्त बासस्थान रहेको र १० महिना पहिले गरिएको सम्भाव्यता अध्ययनको क्रममा १२० प्रजातिका चराहरु देखिएका थिए । थप अध्ययनका लागि स्थानीयलाई नै सक्षम बनाउने उद्देश्यसहित तालिम गरिएको हो ।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्