चित्रकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा रचित ‘सत्यम् शिवम् सुन्दरम्’ सार्वजनिक

काठमाडौँ – चित्रकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा रचित पुस्तक ‘सत्यम् शिवम् सुन्दरम्’ सार्वजनिक भएको छ। सत्यम् शिवम् सुन्दरम्को वास्तविक अर्थ चिन्तनमा सत्य, कर्ममा शिवत्व र प्रत्यक्षमा सौन्दर्यको तत्त्वबोध हो। सत्यम, ईश्वर परम सत्य हो, शाश्वत, अविनाशी छ। समयको धूलो सत्यमा चढ्दैन।

सत्य सत्य रहन्छ। शिवम्को अर्थ उदार, शुभ, पवित्र हो। जसले शान्ति, खुसी, आनन्द र सबैलाई माया दिन्छ। सुन्दरम् – शिव सुन्दर छन्, जो साँचो र शुभ छ, त्यही सुन्दर छ। यही सिद्धान्तको प्रयोग गरी सत्कर्ममा लाग्न सके जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने सन्देश पनि यस पुस्तकले दिएको छ।

पुस्तकमा पौराणिक कथाको महत्त्व र धार्मिक ग्रन्थको विस्तृत रूपमा वर्णन गरिएको छ। देवीदेवताको उत्पत्ति, शक्ति स्वरूप, गुण आदि घटनालाई सार रूपमा शब्द र चित्रद्वारा रचिएको छ।

यस पुस्तकमा चित्रसहित कथासङग्रहको उपयुक्त वर्णन गरिएको छ। प्रत्येक शीर्षकमा शीर्षकसँग सम्बन्धित घटनाक्रमको चित्र देखाइएको छ र प्रत्येक चित्रको तल क्यानभासमा तयार पारिएको चित्रको आकार समेत उल्लेख गरिएको छ।

चित्र एक्रिलिक कलरबाट तयार पारिएको छ। चित्रकार द्यःलालाई सम्पूर्ण चित्र तयार पार्न २० वर्ष लागेको थियो। २० वर्ष लगाएर उनी पहिला चित्र तयार पारेका थिए अनि मात्र पछि पुस्तक लेख्ने सोच उनमा पलायो। साथीभाइ र परिवारको सहायताले उनी पुस्तक लेख्न सफल भए।

पुस्तकले समुद्र मन्थन, गंगाको पृथ्वीमा अवतरण, कृष्ण र शिवको युद्ध, चन्द्रले शिवलाई शितलता दिएको र देवी दुर्गाको उत्पत्ति लगायतका थुप्रै शीर्षकबारे यथेष्ट जानकारी दिएको छ।

हिन्दू धर्म र संस्कृतिसँग सम्बन्धित पौराणिक पुस्तक बृहत् र विशाल हुनाले बुझाइमा कठिनाइ र जटिलता आउने गर्छ तर यो पुस्तकमा धार्मिक ग्रन्थका महत्त्वपूर्ण घटना तथा महिमालाई छोटो, सरल र सहज तरिकाबाट लेखकद्वारा प्रस्तुत गरिएको छ। यसले पाठकलाई पृथक् स्वादको अनुभूति गराउनेछ।

वी रिडले प्रकाशन गरेको यस पुस्तकमा उल्लिखित विषय पाठकका लागि पठनीय र अनुशरणीय हुनेछ। जम्मा १०४ रंगीन पृष्ठको सत्यम् शिवम् सुन्दरम् पुस्तकको मूल्य १२५० रुपैयाँ तोकिएको छ। यसअघि वी रिडबाट चित्रकार द्यःलाको चित्रमा कवि मन्जुलद्वारा रचित कवितासंग्रह हाम्रा कवि र साहित्यकार प्रकाशित छ।

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्