दाङमा साेमबारदेखि भौतिक उपस्थितिमा विद्यालय चल्ने

दाङ – दाङमा सोमबारबाट विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरिने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले स्थानीय तहले विद्यालय सञ्चालनका लागि मागेको अनुमति स्वीकृत गरेपछि सोमबारबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनमा आउने भएका हुन्। दश स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन्।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले स्मार्ट लकडाउनको कार्यविधिअन्तर्गत जिल्ला कोरोना संकट व्यवस्थापन समितिसँगको समन्वयमा सोमबारबाट स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिकालगायत पालिकाले विद्यालय सञ्चालन गर्न थालेको सूचना जारी गरिसकेका छन्।

‘हामीले जिल्ला कोरोना संकट व्यवस्थापन समितिसमक्ष विद्यालय सञ्चालनको अनुमति मागेका थियौं । त्यो अनुमति प्राप्त भएको छ। विद्यालय स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनमा आउने जानकारी गराउन चाहन्छौं’, लमही नगरपालिका शिक्षा शाखाका प्रमुख रवीन्द्र क्षेत्रीले भने, ‘मापदण्ड पालनामा कडाइ गरेका छौँ।’

घोराही उपमहानगरपालिकाभित्रका सबै विद्यालय सोमबारदेखि खुल्ने भएका छन्। विद्यार्थीको भौतिक उपस्थितिमा सोमबारदेखि सामुदायिक र संस्थागत विद्यालय खुल्ने भएका हुन्।

स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवासमेत सञ्चालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिए। नगर कार्यपालिकाको विद्यालय खोल्ने निर्णयको सिफारिस जिल्ला कोरोना संकट व्यवस्थापन समितिमा पठाइएको थियो। समितिबाट अनुमोदन भएपछि विद्यालयमा पठनपाठन हुन थालेको हो।

 

भदौ २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्