अफगानिस्तान संकट

छात्राहरुले पुरुष सँगसँगै पढ्न नपाउने तालिबानको घोषणा

अफगानिस्तानका विश्वविद्यालयहरु लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू हुने तालिबानले बताएको छ ।
तालिबान सरकारले छात्रछात्रा एउटै कक्षामा सँगसँगै पढ्न नपाउने नियम लागू गर्ने भएको छ।

अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारका उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले आइतबार महिलाहरुले पढ्न पाउने तर पुरुषसँग एउटै कक्षामा भने नपाउने संकेत गरेका हुन् ।

यस्तै कुन–कुन विषय पढाउने अर्थात पाठ्यक्रममाथि पनि पुनरावलोकन हुने उनले बताएका छन् ।

सन् १९९६ देखि २००१ सम्मको शासनको क्रममा तालिबानले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय तथा विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।

तालिबानले योपटक भने महिलाहरुलाई शिक्षा र रोजगारबाट वञ्चित नगर्ने बताएको छ । तर अगस्ट १५ मा अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिबानले सार्वजनिक स्वास्थ्यबाहेकका क्षेत्रमा कार्यरत सबै महिलाहरुलाई सुरक्षा अवस्था सुधार नभएसम्मका लागि घरमै बस्न आदेश दिएको छ ।

तालिबानको शासनपूर्व अफगानिस्तानमा छात्राहरुका लागि पोशाकसम्बन्धी बन्देज थिएन । यस्तै छात्र–छात्रा एकै कक्षामा सँगै बसेर पढ्ने गरेका थिए ।

तर हक्कानीले भने लिंगका आधारमा छुट्याएर शिक्षा प्रदान गर्ने नियम लागू गर्नमा आफूलाई कुनै संकोच नरहेको बताएका छन् ।

तर विश्वविद्यालयहरुसँग छात्राहरुका लागि छुट्टै कक्षासहितका स्रोत साधनको व्यवस्थापनका लागि कठिनाइ हुने हुँदा महिलाहरु शिक्षाबाट वञ्चित हुने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्