ब्रिट्नी स्पेअर्सले गरिन् प्रेमी साम अस्गरीसँग ‘इन्गेजमेन्ट’

ब्रिट्नी स्पेअर्सले लामो समयदेखिका प्रेमी साम अस्गरीसँग ‘इन्गेजमेन्ट’ गरेकी छन्। गायिका ब्रिट्नीले इन्स्टाग्राममा इन्गेजमेन्टको औँठी देखिने गरी सामसँगको भिडियो पोस्ट गरेकी छन्।

सामले आफ्नो पोस्टमा औँठी र दुईजनाले चुम्बन गर्दै गरेको तस्बिर पोस्ट गरेका छन्।

सामका म्यानेजर ब्रान्डन कोहेनले पिपुल म्यागजिनलाई दम्पतीको इन्गेजमेन्ट भएको पुष्टि गरेका छन्।

ब्रिट्नी र सामबीच सन् २०१६ मा एक म्युजिक भिडियोको सेटमा भेट भएको थियो।

इरानको राजधानी तेहरानमा जन्मिएका साम १२ वर्षको हुँदा अमेरिकाको लज एन्जलस गएका हुन्। २७ वर्षका उनी पर्सनल ट्रेनर र अभिनेता हुन्।

३९ वर्षकी ब्रिट्नीले यसअघि दुईपटक विवाह गरेकी थिइन्। सन् २००४ मा उनले बाल्यकालका साथी ज्यासन एलेक्सान्डरसँग लस भेगासमा विवाह गरेकी थिइन्। लगत्तै विवाह अन्त्य भएको थियो। सोही वर्ष उनले डान्सर केविन फेडेरलाइनसँग विवाह गरेकी थिइन्। सन् २००७ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए।

आफ्नो व्यक्तिगत जीवन तथा वित्तीय गतिविधिमा विगत १३ वर्षदेखि रहँदै आएको पिताको संरक्षकत्व अन्त्यका लागि ब्रिट्नी कानुनी लडाइँमा छिन्।

संरक्षकत्वका शर्तहरुले आफूलाई सामसँग विवाह गर्न नदिएको र सन्तान जन्माउन पनि बन्देज लगाएको उनले खुलाएकी थिइन्।
ब्रिटनीको मानसिक स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त भएपछि सन् २००८ मा ब्रिट्नीमाथि कानुनी रुपमा पिताको संरक्षकत्व लागू भएको थियो।

गएको हप्ता ब्रिट्नीका पिता जेमी स्पेअर्सले लस एन्जलसको अदालतमा संरक्षकत्व अन्त्य गरिदिन माग गर्दै निवेदन दर्ता गरेका छन्।

 

View this post on Instagram

 

A post shared by Sam Asghari (@samasghari)

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्