अल्कामा ९७ वर्षीया वृद्धाको हिमीआर्थाेप्लास्टी शल्यक्रिया सफल

ललितपुर – ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षीया एक वृद्धाको हिमीआर्थाेप्लास्टीको शल्यक्रिया सफल रुपमा गरिएको छ।

ललितपुर खोकनाकी ९७ वर्षीया गणेशमाया शाहीको हिमीआर्थाेप्लास्टी अर्थात कम्मरको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।

चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाई केयरमा राखेर हिमीआर्थोप्लास्टिीको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

मुटुका बिरामीसमेत रहेका शाहीको उच्च सावधानी अपनाएर गरिएको शल्यक्रिया सफल भएको डा अमात्यले जानकारी दिए। उनले यस किसिमका शल्यक्रिया अत्यन्त दुर्लभ हुने गरेको बताए।

उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिँदैनन्।

‘शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो, हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौँ’, डा अमात्यले भने, ‘उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले कम्मर फेर्ने काम सफल रुपमा गरेका छौं।’

उनका अनुसार वृद्धा शाहीको मुटु सुन्निएको छ। धड्कन पनि कम छ। त्यसैले चाँडोभन्दा चाँडो कम्मर फेर्नुपर्ने आवश्यकता थियो । डा. अमात्यले भने करिब ५४ मिनेटभित्र गरिएको शल्यक्रिया सफल भएको बताए।

बिरामी शाहीका परिवारले अन्य धेरै अस्पताल धाउँदा पनि नभएको शल्यक्रिया अल्कामा सफलतापूर्वक भएको जनाए।

केही वर्षअघि शाही लड्दा कम्मरको जोर्नी भाँचिएको थियो। कम्मरको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिचार्ज भइसकेको अस्पतालले जनाएको छ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्