बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

फाइल तस्बिर ।

नेपालगञ्ज – बाँकेमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई आक्रमण गरेको हो ।

स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जका वार्डेन श्यामकुमार साहले पुष्टि गरेका छन् ।

केही दिनदेखि होटलमा काम गरिरहेका भारतीय मूलका ती व्यक्ति आइतबार साँझदेखि हराएका थिए । उनको सोमबार बिहान साढे सात बजे निकुञ्जभित्र एउटा खुट्टामात्रै भेटिएको वार्डेन साहले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गबाट ५ सय मिटर उत्तरमा निकुञ्ज भित्र ती व्यक्तिको खुट्टा भेटिएको हो । उनको सनाखत हुन सकेको छैन । होटल सञ्चालकहरुले ‘भैया’ भनेर बोलाउने गरेको बताएका छन् ।

वार्डेन साहले केही दिनदेखि त्यस क्षेत्रमा बाघ देखिएकाले सतर्क रहन स्थानीय जानकारी गराइरहेका बताए । बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ छन् । गाभर क्षेत्रमा दुई दिनअघि मात्रै गाउँमै पसेर बाघले दुईवटा बाख्रा र एउटा बाच्छो मारेको स्थानीयले बताएका छन् ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्