धनुषामा चार महिनामै कोरोनामा खर्चियो २२ करोड, हंसपुरको मास्क खर्च नै १६ लाख

जनकपुरधाम – धनुषाका स्थानीय तहहरुले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न २२ करोडभन्दा बढी रकम खर्च गरेका छन्।

महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनअनुसार कोरोनाकालमा धनुषाका स्थानीय तहहरुले २२ करोडभन्दा बढी रकम खर्च गरेका हुन्।

धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका सहित १८ वटा स्थानीय तह रहेका छन्। ती स्थानीय तहहरुले २२ करोड ४ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेका छन्। तिनीहरुले आव २०७६÷७७ को चैतदेखि असारसम्म क्वारेन्टिन खर्च, मास्क, सेनिटाइजर, खानालगायतका शीर्षकमा उक्त रकम खर्च गरेका हुन्।

कोरोनाकालमा सबैभन्दा बढी जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेको छ। उसले राहत वितरणको नाउँमा १ करोड ४६ लाख १६ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ। क्वारेन्टिन÷होल्डिङ सेन्टरवापत ६८ लाख ९१ हजार ५ सय ५९ रुपैयाँ खर्च गरिएको छ।

त्यस्तै गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६ सय ६४ रुपैयाँ कोरोनाको नाउँमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। नगराइन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १ सय ९२, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार, मिथिला बिहारीले १ करोड ४० लाख २९ हजार १ सय ३६ र लक्ष्मीनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २ सय २ रुपैयाँ कोरोना महामारीको नाउँमा खर्च गरेका छन्।

हंसपुर नगरपालिकाले आव २०७६÷७७ मा १ करोड २३ लाख ६९ हजार ५ सय २९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। हंसपुर नगरपालिकाले १६ लाखभन्दा बढीको मास्कमात्र खरिद गरेको छ।

नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय, कविर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २ सय ५८, आदित्य इन्टरनेशनलसँग केएन ९५ मास्क खरिदवापत १ लाख ५४ हजार ५ सय ६० भुक्तानी दिएको छ। त्यस्तै वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग पीपीई सेट, मास्क, सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।

कमला नगरपालिकाले आव २०७६÷७७ मा १ करोड २३ लाख १५ हजार ७ सय ९५ रुपैयाँ कोरोना महामारीमा खर्च गरेको छ। त्यस्तै क्षिरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५ सय ५५ र विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३ भुक्तानी दिएका छन्।

सहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७ सय ८९, धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४ सय ६२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २ र धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६ सय खर्च गरेका छन्।

त्यस्तै औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २ सय ५४, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ र वटेश्वर गाउँपालिकाले २० लाख ९५ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्