दाङमा सोमबारदेखि विद्यालयमै पठनपाठन सुरु

दाङ – दाङमा साेमबारदेखि  विद्यालय सञ्चालनमा आएका छन्। कोरोना भाइरस संक्रमण फैलिएपछि विद्यालय बन्द गरिएको थियो। लामो समयपछि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी खुसी भएका छन्।

‘विद्यालयमा गएर कहिले पढ्न पाइन्छ भन्ने थियो, बल्ल स्कुल खुल्यो’, यमुना न्यौपानेले भनिन्, ‘अब विद्यालय बन्द नहुनेगरी पढाइ गर्ने योजना बनोस्।’ लामो समय घरमै बसिरहँदा विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित बनेको छ।’

इन्टरनेटको पहुँचमा हुने विद्यार्थीले मात्रै अनलाइन कक्षा लिएका थिए। निजी विद्यालयले यसलाई नियमित गरे पनि सामुदायिक विद्यालयले सञ्चालन गर्न सकेनन्।

केही सामुदायिक विद्यालयले अनलाइन कक्षासमेत चलाएका थिए। ‘विद्यार्थीको मागका आधारमा असारबाट अनलाइन कक्षा चलाएका थियौँ’, आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाका प्रधानाध्यापक किरण पोखे्रलले भने, ‘अहिले सावधानी अपनाएर भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छौं।’

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति स्वीकृत गरेपछि सोमबारबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनमा आएका हुन्।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले स्मार्ट लकडाउनको कार्यविधिअन्तर्गत जिल्ला कोरोना संकट व्यवस्थापन समितिसँगको समन्वयमा सोमबारबाट स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउने निर्णयअनुसार विद्यालय सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिकालगायतले विद्यालय सञ्चालन गरेका छन्।

लमही नगरपालिकाले नगरका सबै विद्यालय सञ्चालन गर्ने भएको शिक्षा शाखा प्रमुख रवीन्द्र क्षत्रीले जानकारी दिए।

घोराही उपमहानगरभित्रका सबै विद्यालय सोमबारदेखि खुलेका छन्। विद्यार्थीको भौतिक उपस्थितिमा मंगलबारदेखि सामुदायिक र संस्थागत विद्यालय खुल्ने भएका हुन्।

स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवासमेत सञ्चालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको छ। दाङमा तीन सयभन्दा बढी विद्यालय छन्। लाखौं विद्यार्थीको कोरोना भाइरसका कारण पठनपाठन प्रभावित हुँदै आएको थियो।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्