जेलबाट छुटेपछि उद्योगीलाई धम्क्याउँदै आएका एक जना पक्राउ

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–४ बिर्ता बजारमा र वडा नम्बर ८ घण्टाघरमा तरकारी बजारमा बम विस्फोट गर्ने एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका फुलहसन अन्सारीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। पक्राउ परेका अन्सारीसहित चार जनाले ०७६ साल साउन २४ गते बिर्ता बजारमा र २८ गते घण्टारघरस्थित तरकारी बजारमा बम विस्फोट गराएका थिए।

सोमध्ये तीनजना सोही बेला पक्राउ परी कारगारमा सजाय भोग्दै छन् भने अन्सारी फरार रहँदै आएका थिए। उनी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान बदलेर अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको प्रहरीले जनाएको छ।

समय–समयमा अन्सारी भारतीय बजार रक्सौल आई वीरगञ्जका उद्योगी तथा व्यापारीलाई फोनमार्फत धम्की दिई रकम असुली गर्ने गरेको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए।

केही दिनभित्रै वीरगञ्जमा घटना घटाउने योजना बनाएको सूचना पाएपछि पर्सा प्रहरीले सोमबार बिहान ४ बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित आफ्नो घरमा आउँदै गरेको अवस्थामा अन्सारीलाई पक्राउ गरिएको पाण्डेले बताए।

को हुन् अन्सारी?

पक्राउ परेका फुलहसन अन्सारी उर्फ विवेक सिंहले ०६५ साल पुस ७ गते वीरगञ्ज महानगरपालिका–१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेका थिए। घटनापछि अन्सारी त्यसको नौ दिनपछि हतियारसहित पक्राउ परेका थिए।

सोही अभियोगमा अन्सारीलाई जिल्ला अदालत, तत्कालीन पुनरावेदन र सर्वोच्चले समेत सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
जन्मकैदको सजाय काटिरहेका उनी ०७४ सालको दसैंको अवसरमा ५६ प्रतिशत कैद मिनाहा भई छुटेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

उनी वीरगञ्ज महानगरपालिका–२० अपौनीको विदेशी साहको समूहमा आबद्ध भई थुप्रै घटना घटाएको समेत खुलेको पाण्डेले बताए। अन्सारीले भारतको मुजफरपुरमा अंकित पटेको नाममा आधार कार्ड बनाएर बसी फिरौती माग गरेको पनि उनले जानकारी दिए। पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्