संक्रमणदर ९ प्रतिशतमा घटे पनि कोरोनाको जोखिम उस्तै

काठमाडौँ– नेपालमा कोरोना भाइरसको दोस्रो लहर भित्रिएसँगै संक्रमण दर ५८ प्रतिशतसम्म पुगेको थियो। अस्पताल भरिभराउ थिए। कैयौँ अस्पतालले बेड अभावका कारण अस्पतालबाहिरै बिरामीको उपचार सुरु गरेका थिए।

तर, अहिले त्यो अवस्था छैन। अस्पतालमा बिरामी भए पनि बेड नपाउने अवस्था भने विल्कुलै छैन। संक्रमित बिरामीले सहजै उपचार गराइरहेका छन्। संक्रमितको उपचारमा खटिएका चिकित्सक पनि पछिल्लो समय उपचारमा केही सहज भएको बताउँछन्।

तीन महिनाअगाडि ५८ प्रतिशत पुगेको संक्रमण दर ९ प्रतिशतमा झरेको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले संक्रमण दर ९ प्रतिशतमा झरेको देखाएको छ।

गत शनिबारबाट संक्रमण दर १ हजारभन्दा तल झरेको थियो। शनिबार ९ हजार ८ सय ४० नमुना परीक्षण गर्दा ९ सय ९४ जनामा नयाँ संक्रमित थपिएको थियो। यस्तै, आइतबार देशभरबाट संकलन गरिएका ११ हजार १८ परीक्षण नमुनाबाट ९ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको थियो।

तर, सोमबार भने संक्रमणको संख्या केही बढेको देखिएको छ। देशभरबाट संकलन गरिएको १२ हजार ५ सय ३२ नमुना परीक्षण गर्दा १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता दैनिक थपिने संक्रमितको संख्यात्मक रूपमा सबैभन्दा कम संक्रमित आइतबार फेला परेका थिए।

तर, संख्यात्मक रूपमा कमी आए पनि संक्रमणको जोखिम भने उस्तै रहेको मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

उनले भने, ‘संक्रमण दर कम भएको हो। जोखिम कम भएको होइन।’ संक्रमितको अनुपातमा सुधार हुँदै आएको उनले बताए। उनले भने, ‘अब कोभिड–१९ छैन, हामी संक्रमणमुक्त हुँदै छौँ भन्ने होइन, यसको जोखिम अझै पनि उत्तिकै छ।’

नेपालमा भित्रिँदै गरेका विभिन्न चाडपर्वका कारण अत्यधिक मात्रामा भीडभाड हुँदै गरेका छन्। जहाँ संक्रमणको जोखिम बढी रहने विज्ञहरूले बताउँदै आएका छन्। जसले गर्दा धेरै भीडभाड हुने ठाउँ सकेसम्म नजान र जानै परे पनि सुरक्षाका मापदण्ड पालना गर्न उनीहरूले आग्रह गर्दै आएका छन्।

अहिलेको तथ्यांकअनुसार संक्रमणको जोखिम कम भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले बताए।

‘अहिलेको अवस्थालाई हेर्ने हो भने संक्रमणको जोखिम कम हुँदै गएको छ। हालसम्म धेरै संक्रमित भइसकेका छन्। अर्थात् जो संक्रमणको जोखिममा थिए, उनीहरू संक्रमित भइसकेका छन्। उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भइसकेको छ’, उनले भने, ‘तर पछिल्लो समय बढ्दै गएको भीडभाडका कारण भच्र्युल इन्फेक्सन भने हुन सक्छ।’

यस्तै, विभिन्न चाडपर्वका कारण हुने भीडभाडले गर्दा संक्रमण फेरि बढ्न सक्ने डा अधिकारी बताउँछन्। ‘चाडपर्वका बेला भीडभाड धेरै हुन्छ। आवत–जावत धेरै हुन्छ। हामी संक्रमणको जोखिममै छौँ। सतर्क हुन अत्यन्तै जरुरी छ’, उनले भने।

दैनिक घट्दै गएको संक्रमण दरलाई हेरेर महामारी सकिएको भन्न नमिल्ने डा अधिकारीले बताए। उनले भने, ‘अहिले संक्रमण दर ओरालो लाग्दै गएको छ। तर, यसलाई हामीले महामारी समाप्त हुँदै गएको संज्ञा दिन मिल्दैन। भेरिअन्टहरू उत्परिवर्तन हुन सक्छ र संक्रमण फेरि उकालो चढ्न सक्छ।’

डा अधिकारीका अनुसार संक्रमण नबढ्नुमा खोपको पहुँच, मानिसमा विकास भएको एन्टिबडीका कारण संक्रमण दर घटेको हुन सक्छ।

‘खोप लगाएमा ९० प्रतिशत एन्टिबडी भेटिएको छ। यसले संक्रमणको जोखिमलाई केही हदसम्म कम गरेको हुन सक्छ। तर, अहिले मानिसले एन्टिबडी बनेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडेका छन्। भीडभाडमा जाँदासमेत मास्क प्रयोग नगर्नु गलत हो’, उनले भने।

नेपकालमा सक्रिय रहेका डेल्टा, बिटा, अल्फा र गामा भेरियन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्ने डा अधिकारी बताउँछन्।

यस्तै, १३ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ भने २० जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

बाग्मती प्रदेशका जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका कारण यो प्रदेश उच्च स्थानमा रहेको छ। जहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितको संख्या पाँच सयभन्दा बढी छ।

प्रदेश १ का मोरङ, सुनसरी र झापामा संक्रमितको संख्या पाँच सयभन्दा बढी छ। यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। लुम्बिनी प्रदेशको रूपन्देहीमा र कर्णाली प्रदेशको सुर्खेतमा संक्रमितको संख्या पाँच सयभन्दा बढी छ। देशभर संक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० छ भने मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्