प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १ लाख नाघ्यो, १ हजार ९ सय ७१ को मृत्यु

मोरङ – प्रदेश १ मा हालसम्म १ लाखभन्दा बढी संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेशका विभिन्न स्थानमा गरी हालसम्म १ लाख ३ सय २ जनामा संक्रमण पुष्टि भएको छ।

जसमा ४२ हजार ८ सय ८८ महिलामा र ५७ हजार ४ सय १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। यस क्रममा प्रदेश १ स्थायी ठेगाना भएका ९६ हजार ९ सय ७८ र प्रदेश १ बाहिरका ३ हजार ३ सय २४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा प्रदेशमा ३ सय ६६ जनामा कोरोना संक्रमण भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ९ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय ५९ र ६ सय १७ जनाको एन्टिजेन परीक्षणमा १ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय १०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा समान १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ७४, बेलबारीमा ११, बूढीगंगामा ७, सुन्दरहरैचामा ६, कटहरी र उर्लाबारीमा समान ३, पथरीशनिश्चरे र धनपालथानमा समान २, रतुवामाई र मिक्लाजुङमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ५, उदयपुरको चौदण्डीगढी, संखुवासभाको पाँचखपन र इलामको चुलाचुलीमा समान १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

अर्कोतर्फ, प्रदेशमा ४ सय १२ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेमा २ सय ९ महिला र २ सय ३ पुरुष छन्। यससँगै प्रदेशमा हालसम्म ९५ हजार ४ सय २३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।

यद्यपि, २ हजार ९ सय ८ जना हाल सक्रिय संक्रमितका रूपमा रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट १ हजार ९ सय ७१ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्