सम्पत्ति विवरण बुझाउनुभयो? ५ हजार रुपैयाँ जरिमानामा पर्नु होला है!

काठमाडौँ- नियमअनुसार आर्थिक वर्ष सुरु भएको साठी दिनभित्र बुझाउनुपर्ने सम्पति विवरण साढे ११ हजार कर्मचारीले बुझाएका छैनन्।

सम्पति विवरण नबुझाउने ती कर्मचारी कारर्वाहीको दायरामा परेका हुन्। संघ, प्रदेश र स्थानीय तहका गरी करीब ८८ हजार निजामती कर्मचारी मध्ये ७६ हजार ५ सयले मात्रै समयमै सम्पति विवरण बुझाएको राष्ट्रिय किताब खानाका निर्देशक प्रकाशजंग कार्कीले देशसञ्चारलाई जानकारी दिएका छन्।

सम्पति विवरण बुझाउने समय सीमा भदौ २८ गते सोमबारसम्म मात्रै तोकिएको थियो। समयमा सम्पति विवरण नबुझाउने कर्मचारीलाई थप एक महिना भित्र समयसीमामा पेश नगर्नुको कारण सहित सम्पति विवरण पेश गर्न लगाउने र उपयुक्त कारण पेश नगर्ने कर्मचारीलाई कार्बाही स्वरुप जरिमानाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवरण लेखी पठाइने निर्देशक प्रकाशजंग कार्कीले बताए।

‘थप एक महिनाभित्र सम्पति विवरण पेश नगर्नुको चित्तबुझ्दो जवाफ सहित विवरण पेश नगर्ने माथि ५ हजारको दरमा जरिमाना गराउन अख्तियारलाई विवरण लेखी पठाउने छौँ,’ निर्देशक कार्कीले भने।

सम्पति विवरण पेश नगर्ने प्रत्येक कर्मचारीले अख्तियारले तोकेको खातामा जरिमाना स्वरुप ५ हजार रुपैयाँ दाखिला गर्नुपर्ने छ ।

भष्ट्राचार निवारण ऐन २०५९ को दफा (५०) को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३ (क) उपदफा (१) र निजामति सेवा नियमावली २०५० को नियम ११८ मा प्रत्येक बहालवाला निजामति कर्मचारी तथा यस आर्थिक वर्षमा सेवा निवृत्त भएका कर्मचारीले समेत आर्थिक वर्ष समाप्ति भएको मितिले साठी दिनभित्रै आफ्नो सम्पति विवरण सम्बन्धित कार्यालय मार्फत् राष्ट्रिय किताव खानामा बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ ।

समयमा सम्पति विवरण नबुझाउने कर्मचारीलाई किताब खानाको विवरणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ५ हजारका दरले जरिमाना गर्दै आएको छ । स्थानीय तहका पदाधिकारीहरुले भने प्रदेश कार्यालय मार्फत् सरकारलाई सम्पति विवरण पेश गर्ने व्यवस्था छ ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्