सुदूरपश्चिमका दुई अस्पतालमा सम्झौताअनुसार अक्सिजन प्लान्ट जडान भएन

धनगढी– सुदूरपश्चिमका दुई जिल्लामा ठेकेदारको लापरवाहीले अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ भएको छ।

असारभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सम्झौता भएपनि दार्चुला र बैतडी जिल्ला अस्पतालमा ठेकेदारको लापरवाहीले ढिला भएको हो।

हेल्थ केयर काठमाडौँसँग अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको तीन महिना बितिसक्दासमेत अहिलेसम्म प्लान्ट जडान नभएको बैतडी जिल्ला अस्पतालले जनाएको छ। सम्झौता भएको हेल्थ केयरलाई प्लान्ट स्थापनाका लागि ताकेता गर्दासमेत अहिलेसम्म प्लान्ट स्थापना नभएको बैतडी जिल्ला अस्पतालका प्रमुख डाक्टर बसन्तराज जोशीले बताए।

डाक्टर जोशीले भने, ‘हामीले सुरुमा असार मसान्तभित्र अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरेका थियौँ। पछि साउन मसान्तसम्मको म्याद मागेको थियो। त्यो समयमा पनि नभएपछि अहिले भदौ मसान्त सम्म भनेको छ तर भदौमा पनि होला जस्तो छैन्।’

केयरसँग अस्पतालले १ करोड १८ लाख प्लान्ट स्थापनाका लागि सम्झौता गरेको थियो। कोभिडले बाहिरबाट सामान आउन नसकेकोले ढिला भएको केयरले बताउँदै आइरहेको छ।

असोजको पहिलो साता प्लान्ट स्थापना नभए अर्को विकल्पमा जानुपर्ने अस्पतालले सोच बनाएको छ। कोरोनाको दास्रो लहर फैलिएपछि संघीय तथा प्रदेश सरकारले प्लान्ट स्थापनाका लागि रकम दिएको थियो।

यसैगरी दार्चुला अस्पतालमा पनि असारमै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको थियो। अक्सिजन प्लान्ट स्थापनाका लागि दुई पटक म्याद थप्दा समेत जडान नभएको अस्पताल प्रशासनले जनाएको छ। चीनबाट सामाग्री समयमै नआएकोले जडानमा ढिलाइ भएको ठेकेदारले बताइरहेका छन्।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्