झापा आएर ओलीले भने, ‘माधव नेपालको तमासा चल्दा पनि चल्दैन’

झापा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पार्टी, पार्टी नै नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

मंगलबार झापाको बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालप्रति कटाक्ष गर्दै माधव नेपालले वडा सदस्यको चुनाव पनि नजित्ने दाबी गरे।

उनले भने, ‘माधव नेपालले नयाँ पार्टी बनाएको होइन, तमासा मात्र गरेको हो।’

ओलीले सम्बोधनको अधिकांश समय नेपालप्रति कटाक्ष गरेका थिए। उनले भने, ‘जुन पार्टीको नेतृत्वमा बसेर १६ वर्ष खाए प्रधानमन्त्री भए, तिनैले पार्टी चोइट्याए।’

उनले पार्टी फुटाउनु पर्ने कुनै आवश्यकता नभएको ओलीको भनाइ थियो। अदालतले पार्टी फुटाएको नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता मात्र बदर गरेको ओलीले बताए।

उनले भने, ‘पार्टी फुटाएको प्रचण्डले हो। मैले धेरै पटक कुरा गर्ने कोशिस गरें तर उनले त्यो कुरालाई मजाकको विषय बनाए।’

माधव नेपालले पार्टीलाई जसरी पनि फुटाउने कोशिस गरेको ओलीले बताए। उनले भने, ‘पार्टी फुटाउने कोशिस गरेका थिए आफैं चोइटिएर गए।’

माधव नेपाल अन्यत्र गएर एमालेको ओजन नघटेको ओलीको दाबी थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै ओलीले उनी राम्रो बाबु, राम्रो काका, राम्रो ससुरा भएको तर धोकेबाज नेता भएको ओलीले बताए।

उनले भने, ‘माओवादी केन्द्रमा अहिले पनि रहिरहेका नेता तथा कार्यकर्ता हामीसँग आउनुहोस्। उहाँसँग अल्मलिएर नबस्नुहोस्।’

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्