सभामुखप्रति हाम्रो आशंका उस्तै छ: एमाले नेता नेम्वाङ

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन्।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको बताए। सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनको भनाइ छ।

उनले भने, ‘हामीसँग भेदभाव गरियो। प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ। त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन। सभामुखमाथि हाम्रो आशंका छ। सभामुखजीले ल आऊ बैठक भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरु पुछ्नुस्।’

उनले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गरे। प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्