पत्रकारलाई फसाउन खोजेको आरोपमा एसपी शाह अनुसन्धानमा तानिएपछि घिमिरेलाई रौतहट पठाइयो

एसपी विनोद घिमिरे।

वीरगञ्ज– रौतहटमा प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक विनोद घिमिरेलाई पठाएको छ। जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत घिमिरेलाई रौतहटको प्रहरी प्रमुखको रुपमा काज सरुवा गरिएको हो।

पत्रकारलाई लागुऔषध मुद्दामा फसाउन खोजिएको घटनामा रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि तानेपछि नयाँ एसपीको रुपमा घिमिरे जिल्लामा आएका हुन्।

गत साउन ३२ गते गौर नगरपालिका–१ बाट लागुऔषधसहित दुई जना पत्रकार शेष नजिबुल्लाह र शेष गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई प्रहरीले नै फसाएको देखिएको थियो।

उक्त विषयमा अनुसन्धानको क्रममा लागुऔषध राख्न लगाएको आरोपमा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बनसमेत गरिएको छ। सोही विषयको छानविनको लागि एसपी सिद्धिविक्रम शाहलाई पनि प्रहरी प्रधान कार्यालयमा तानिएको छ।

लागुऔषध राखेको आरोपमा प्रहरीले रौतहटकै धिरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। यस्तै सोही घटनामा संलग्न भनिएका पत्रकार महासंघ रौतहटका सहसचिव सञ्जय सहनी भने फरार रहेका छन्।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्