संखुवासभा हत्या प्रकरणः मादी हत्याकाण्डको च्याप्टर क्लोज भइसकेको छैन

अनुसन्धानका क्रममा संखुवासभामा रहेको प्रहरी टोली। तस्बिरः प्रहरी उपरीक्षक भीम दाहालको फेसबुकबाट।

काठमाडौँ– संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङको खोलागाँउमा भएको कार्की परिवार हत्याकाण्डको च्याप्टर क्लोज भइनसकेको प्रहरीले जनाएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बि.सी.ले देश सञ्चारसँग कुरा गर्दै सो घटनामा थप अनुसन्धान भइरहेको बताएका छन्।

हत्या आरोपी २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेपनि घटनाको अनुसन्धान जारी रहेको उनले बताएका हुन्। उनले घटनाबारे थप कुरा खुल्न सक्ने जनाउँदै आरोपी कार्की र भाउजू रञ्जना कार्कीको फोन रेकर्ड अनुसन्धानको पाटोमा रहेको उल्लेख गरेका छन्।

घटनामा ८४ वर्षीया हजुरआमा पार्वतादेखि ७ वर्षीया गोमा कार्कीसम्मको हत्या गरेको स्वीकार गरेका लोकबहादुरको पक्राउसँगै प्रहरीले फोन रेकर्डलाई पनि अनुसन्धानको दायरामा राखेको छ।

बि.सी.ले लोकबहादुरले भाउजु पर्ने ३२ वर्षीया रञ्जनालाई समेत केही समयअघिबाट मिस्ड कल गर्ने गरेको बताएका छन्। उनले अनुसन्धानकै क्रममा रहेको यस विषयबारे लोकबहादुरले भाउजूलाई झुक्किएर मिस्ड कल गएको स्वीकारेको बताए।

रञ्जनाले यस विषयमा विदेशमा रहेका श्रीमान्‌लाई समेत जानकारी गराएकी थिइन्। सो क्रममा विदेशबाट रञ्जनाका श्रीमान्‌ले घरमा तेजबहादुरलाई सो कुरा बुझ्नसमेत लगाएको खुलेको छ। रञ्जनाको मोबाइलमा आएको नम्बरमा तेजबहादुरले कल गर्दा सो नम्बर लोकबहादुरको रहेको पत्ता लागेको थियो। त्यसपछि तेजबहादुरले लोकबहादुरलाई मिस्ड कलबारे सोधपुछ गर्दा विवाद भएको समेत देखिएको छ।

प्रहरी प्रमुख बि.सी.ले मिस्ड कल गरिएको नम्बर रञ्जनाको फोनमा समेत सेभ नभएको बताएका छन्। उनले भने, ‘मिस्ड कलको विषयमा समेत तेजबहादुर र लोकबहादुरबीच विवाद भएको थियो। यसक्रममा तेजबहादुरले लोकबहादुरलाई गालीसमेत गरेका थिए।’

प्रहरीले दुवै जनाको फोन बरामद गरी कल डिटेल र म्यासेजबारे अनुसन्धान गरिरहेको र २५ दिनभित्र यसबारे विस्तृत कुरा बाहिरिन सक्ने सम्भावना रहेको जनाएको छ।

यसअघि, दुई पटक विदेशिने क्रममा र आमाको काजक्रियाका लागि तेजबहादुरले लोकबहादुरलाई ऋणसमेत दिएका थिए। काजक्रियामा ३५ हजार र विदेशिने क्रममा लागेको ऋण ब्याजसहित तिर्न लोकबहादुरले २५ रोपनी जमिन ५ लाख रुपैयाँमा विक्री गरेका थिए। सो रकमबाट लोकबहादुरले काका तेजबहादुरको ऋण र ब्याज तिरेका थिए। लोकबहादुरको आमा केही महिनाअघि तेजबहादुरको घरमा बेहोस भएर लडेको र सो घटनाको केही समयपछि मृत्यु हुँदा लोकबहादुर तनाव थिए।

प्रहरी प्रमुख बि.सी. घटना भएको तेस्रो दिन घटनास्थलमै पुगेर अन्तिम समयसम्म नेतृत्वमा रहेका थिए। उनका अनुसार घटनाको दिन लोकबहादुर घरमा सुतिरहेको अवस्थामा बिहानीपख तेजबहादुरले खेताला लाग्नका लागि कराएको हुनसक्ने सम्भावना रहेको छ।

बिहानीपख लोकबहादुरलाई कराएपछि घरबाट करिब ५० मिटर टाढा नपुग्दै लोकबहादुरले दाउराको चिर्पटले तेजबहादुरको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि, घटनास्थलतर्फ आउँदै गर्दा तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला र ३२ वर्षीया रञ्जनालाई पनि लोकबहादुरले चिर्पट प्रहार गरेको खुलेको छ। त्यसपछि घटनास्थल नजिकबाट भाग्दै गर्दा ११ वर्षीय दीपेन र ७ वर्षीया गोमालाई समेत लोकबहादुरले लखेटेर हत्या गरेका थिए।

प्रहरी सोधपुछका क्रममा लोकबहादुरले भनेका थिए, ‘सो समय मेरो नजिक जो आएपनि बाँच्दैन थिए। मैले पाँच जनाको कान्ला र खोल्सोमा हत्या गरिसकेको थिए। घरपुगेर खोले पकाउँदै गरेकी हजुरआमालाई समेत चिर्पट प्रहार गरे। तर, हजुरबुबा बौद्धमानलाई देखिनँ र उनी जोगिएका हुन्।’

बिहान करिब ६ देखि साढे ६ बजेको समयभित्र घटनाक्रम भएको अनुमान प्रहरीले गरिरहँदा लोकबहादुरले हत्यामा प्रयोग गरेको चिर्पट भने खोले पकाउने आगोमा हालिसकेका थिए।

घटना भएदेखि नै प्रहरी नजिक रहँदै खाना पकाउँदै सहयोग गरेका लोकबहादुर अन्तिम समयसम्म आफ्नो प्रमाण नष्ट भएकोमा ढुक्क देखिएको प्रहरी प्रमुख बि.सी.ले बताए।

उनले भने, ‘लोकबहादुर चिर्पट जलाएर ढुक्क दिए। सोधपुछका क्रममा समेत प्रमाण ल्याउनुस् भन्ने अभिव्यक्ति दिन्थे। तर अन्तमा उनैले लगाएको हाफ पेन्टमा देखिएको केही रगतका टाटाले पक्राउ गर्न सहज बनायो।’

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्