नेपाल १ सय ९६ रनमा समेटियो, आसिफ एक्लैले बनाए ९० रन

काठमाडौँ- आईसिसी वर्ल्ड कप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीलाई नेपालले जितका लागि एक सय ९७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ९६ रनमा समेटियो।

नेपालका आसिफ शेखले ९०, ज्ञानेन्द्र मल्लले २१ , करन केसीले २१  ,   रोहित पौडेलले २०  र सन्दीप लामिछानेले १६ रन बनाए। कुशल भुर्तेल ०, विनोद भण्डारी ६, सोमपाल कामी ७ र कुशल मल्ल ४ रन जोडेर आउट भए।

पालीको दोस्रो बलमा कुशल भुर्तेल आउट भए। उनले रन जोड्न सकेनन्। यसअघि सोमबार अमेरिकाविरुद्ध उनले ८४ रन जोडेका थिए।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफबीच दोस्रो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो। नेपालले सय रन जोड्दा केवल २ विकेट गुमाएको थियो। तर त्यही अवस्थामा रोहित आउट भएपछि नेपाल लगातार दबाबमा आएको थियो।

ओमानका बिलाल खान एक्लैले ४ विकेट लिए। उनले ३४ औँ ओभरमा कुशल मल्ल र ३६ औँ ओभरमा आसिफ र विक्रम सोबलाई आउट गरेका थिए। कुशल भुर्तेललाई पनि बिलालले आउट गरेका थिए। करन र सुसन भारीबीच १० औँ विकेटका लागि २३ रनको साझेदारी भयो।

प्रतियोगितामा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको थियो। ५ खेलबाट ६ अंक भएको नेपाल छैटौँ स्थानमा छ। १० खेलबाट १४ अंक भएको ओमान शीर्षस्थानमा छ।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्