प्रदेश १ स्तरीय वक्तृत्व कला प्रतियोगितामा विनिका शर्मा प्रथम

मोरङ– सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन्।

५७ औँ राष्ट्रिय बालदिवसका अवसरमा अनलाइनमार्फत प्रदेशका विभिन्न १२ वटा बालगृहका बालबालिकाबीच प्रतियोगिता आयोजना गरिएको थियो।

सामाजिक विकास मन्त्रालय प्रदेश १ द्वारा आयोजित प्रतियोगिता ‘कोरोना संक्रमणः बालबालिकाको भोगाइ र शिक्षामा असर’ विषयमा रहेको थियो।

कार्यक्रम भदौ २७ गते आयोजना गरिए पनि राष्ट्रिय दिवसको अवसर पार्दै मंगलबार विजेतालाई मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो। सो क्रममा सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ बालबालिकाको भविष्यलाई अहिलेनै ध्यान दिएर योजना बनाउनुपर्नेमा जोड दिएका थिए। पुरस्कार वितरणका क्रममा मन्त्री साम्सोहाङले बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको बताएका थिए।

प्रथम पुरस्कार विजेता शर्माले उपाधिसहित १० हजार रुपैयाँ हात पारेकी थिइन्। प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितीय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहानले सान्त्वना पुरस्कार पाइन्।

वक्तृत्वकला प्रतियोगिताका द्वितीय, तृतीय र सान्तवनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन्।

यसैबीच मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो। भद्रपुर नगरपालिकालाई गत वर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्