बस्ती छेउछाउ बाघ देखिँदा स्थानीय त्रसित

नेपालगञ्ज – राप्तीसोनारी–१ गाभरमा मंगलबार पनि बाघ देखिएको छ। पूर्वपश्चिम राजमार्गको गाभर खण्डमा सडक क्रस गरिरहेको बाघ देखिएको हो। गाभरमा सोमबार मात्रै बाघले एक जनाको ज्यान लिएको थियो।

राजमार्गमा मंगलबार एकजना मोटरसाइकलमा पूर्वतिर गइरहेको बेलामा बाघले सडक पार गरेको थियो। मोटरसाइकल चालकले झ्याप्प ब्रेक लगाउँदा दुर्घटना हुनबाट जोगिएको थियो।

‘बाघले दौडेर सडक पार गरेको थियो, मोटरसाइकल चालक नजिकै पुगेका रहेछन्। उनले झ्याप्प ब्रेक हानेछन्,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले भने, ‘बाघ गइहाल्यो। मोटरसाइकल चालकले झ्याप्प रोक्दा एकछिन बेहोसजस्तै भएछन्।’

बाघले मान्छे खाएपछि गाभर गाउँ त्रासमा छ। गाउँलेहरु गोठाला जाँदा पशुमात्रै होइन कि मान्छे नै फर्किने हो कि होइन भन्ने चिन्तामा छन्। ‘चराउन लगेको गाइबस्तु धेरै बाघले खाएको छ। अब त गोठाला नै फर्किन्छन् कि फर्किँदैनन् भन्ने भइसक्यो,’ स्थानीय गणेशबहादुर खत्रीले भने, ‘राति शौच गर्न बाहिर निस्किँदा पनि डर नै छ।’

स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्गको शिवखोला गाभर क्षेत्रमा साँझ ७ देखि बिहान ६ बजेसम्म पैदल, मोटरसाइकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ। दिउँसोमा पनि समूह बनाएर पठाउन थालेको छ।

बाघले मान्छे खाएको ठाउँ भट्टीखोला छेउछाउमा निकुञ्ज प्रशासनले ६ वटा क्यामेरा जडान गरेको छ। निकुञ्जले दुई वटा हात्ती लगेर बाघको निगरानी गरेको छ। वार्डेन शाहले क्यामेरामा बाघको गतिविधि हेर्ने र आवश्यक परे नियन्त्रणमा लिइने बताए।

पूर्वपश्चिम राजमार्गमा रहेकाले गाभरमा दिउँसो चहलपहल हुने गर्दछ। रातिमा सुनसान हुन्छ। स्थानीय चन्द्र मगरले रातीमा बाघको डर हुने गरेको बताए।

उनका अनुसार बाघले केही महिनादेखि नै गाउँको चराउन लगेको बाख्रा, गाईबस्तु खाने गरेको थियो। मान्छे खाने बाघलाई नियन्त्रणमा लिनका लागि स्थानीयले निकुञ्ज प्रशासनलाई दबाब दिएका छन्।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्