विद्यालय परिसरमै भेटियो हत्यापछि फ्याँकिएको शिक्षकको शव

सांकेतिक तस्बिर

नेपालगञ्ज-  दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रबहादुर बिसीको विभत्स हत्या भएको छ। उनले पढाउने विद्यालयकै प्रांगणमा उनको हत्या गरेर शव फालिएको दैलेख प्रहरीले जानकारी दिएको छ। कार्यालयकै ग्राउण्डमा बिहान ७ बजे ४२ वर्षीय बिसी मृत अवस्थामा भेटिएका थिए।

दैलेख सदरमुकामबाट ४ घन्टाको बाटोमा पर्ने घटनास्थल पुगेर जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली साँझ सदरमुकाम फर्किएको जानकारी डिएसपी अनुपम श्रेष्ठले दिए।

दैलेखका सिडिओ हरि प्याकुरेलले विद्यालय परिसरमै शिक्षक बिसीको शव भेटिएको र अनुसन्धान जारी रहेको जानकारी दिए। प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरेर शिक्षक बिसीको हत्या भएको हो।

प्रहरीले घटनमा संलग्न भएको हुनसक्ने आशंकामा विद्यालयसँगै जोडिएको पसल सञ्चालन गर्ने दुईलाई पक्राउ गरेको छ। ‘प्रारम्भिक अनुसन्धानका आधारमा दुई जनालाई पक्राउ गरेर सदरमुकाम ल्याएका छौँ, अनुसन्धान गर्दैछौँ,’ डिएसपी श्रेष्ठले जानकारी दिए।

बिसी गत २२ वर्षदेखि सोही विद्यालयमा कार्यरत थिए।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्