अमेरिकाको आगलागीमा सुब्बा परिवारका पाँचको ज्यान गुम्यो

अमेरिकाको ओहियो राज्यको एक्रन राज्यमा आगलागीमा एकै घरका पाँचको ज्यान गुमेपछि आगलागी नियन्त्रणमा लिँदै अग्नि नियन्त्रकहरु। तस्बिर: एक्रन बेकन जर्नल

अमेरिकाको ओहियो राज्यको एक्रन सहरनजिकै भएको भीषण आगलागीमा परी नेपाली मूलका पाँच भुटानीहरुको ज्यान गुमेको छ। उनीहरुमध्ये अधिकांश सुब्बा थरका थिए।

एक्रननजिकै उनीहरु बसेको  घर जल्दा पाँच जनाको ज्यान गुम्नुका साथै चार जना घाइते भएका छन्।

एक्रनका स्थानीय अग्निनियन्त्रकहरुले सोमबार राति करिब १ बजे लिन्डेन एभेन्युको घरमा आगलागी भएपछि नियन्त्रणमा लिन तदारुकता लिएको फक्स न्युजले जानकारी दिएको छ।

अग्निनियन्त्रकहरु पुग्दा घर आगोको लपेटामा घेरिएको स्थानीयहरुले सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।

घटनामा तीन बालबालिकासहित पाँचको ज्यान गुमेको हो।

घटनामा नेपाली मूलका ६० वर्षीय पुरुष, ४८ वर्षीया महिला, ११ वर्षीय बालक तथा ५ र १६ वर्षका दुई बालिकाको ज्यान गुमेको हो। उनीहरु भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका हुन्।

घटनामा बुवा गुमाएका याम सुब्बाले के भएको भन्ने पत्ता लाग्न नसकेको जानकारी स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन्। उनी घटनाबारे जानकारी पाएर कोलम्बसबाट आएका थिए। उनका बुबा, सौतेनी आमा र तीन बालबालिका एक्रननजिकै रहेको उक्त घरमा बस्दै आएको उनले सुरक्षाकर्मीलाई जानकारी दिएका छन्।

भदौ २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्