बार्सिलोना घरेलु मैदानमै स्तब्ध, बार्यन म्युनिखको शानदार जित

स्पेनिस जाइन्ट बार्सिलोनालाई स्तब्ध पार्दै जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

समूह ई अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले बार्सिलोनालाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे। लिरोय सानेको सहयोगमा ३४ औँ मिनेटमा मुलरले गोल गरी बार्यनलाई सुरुवाति अग्रता दिलाए । लेवान्डोस्कीले ५६ र ८५ औँ मिनेटमा गोल गरेका हुन् ।

लियोनल मेस्सी बिदा भएपछिको पहिलो च्याम्पियन्स लिग खेलमा बार्सिलोना पराजित भएको हो । बार्सिलोनाले युरोपियन प्रतिस्पर्धामा घरेलु मैदानमा भएका लगातार तीन खेलमा हार व्यहोरेको छ ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्