अफगानिस्तान संकट

तालिबानका शीर्ष नेताबीच विवाद र भनाभन

मुल्लाह अब्दुल गनी बरादर

तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभनको अवस्था आएको दाबी गरिएको छ।

स्रोतहरुलाई उद्धृत गर्दै बिबिसीले प्रकाशित गरेको खबरमा गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको हो ।

तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच भनाभनको अवस्था आएको हो ।

पछिल्ला दिनहरुमा बरादरी सार्वजनिक रुपमा नदेखिएपछि तालिबानको नेतृत्वमा विवाद रहेको हुन सक्ने अपुष्ट खबरहरु आएका थिए । उनकाे मृत्यु भएकाे दाबी पनि गरिएकाे थियाे । तर आधिकारिक रुपमा तालिबानले विवादको कुरा अस्वीकार गर्दै आएको छ । तालिबानले बरादर जीवित रहेकाे बताएकाे छ ।

गएको अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको थियो । त्यसपछि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ । अन्तरिम मन्त्रिपरिषद्का सबै सदस्य पुरुष छन् ।

अन्तररिम सरकारका उपप्रधानमन्त्री बरादर र शरणार्थीसम्बन्धी मन्त्री खलिल उर–रहमान हक्कानीबीच भनाभन भएको हो ।

हक्कानी नेटवर्कका प्रमुख सदस्यमध्येका खलिल र बरादरबीच अफगानिस्तानमा तालिबानको सफलताको जस लिने विषयमा भनाभन भएको स्रोतले उल्लेख गरेको बिबिसीले जनाएको छ ।

बरादरीले आफूसहितका कतारमा रहेका नेताहरुको कूटनीतिक पहलका कारण सफलता मिलेको बताए भने हक्कानीले सैन्य बलबाट अफगानिस्तान कब्जा गर्न सकिएको बताएका हुन् । उनीहरुका समर्थकहरुले पनि आपसमा झगडा गरेका थिए ।

यस्तै अन्तरिम सरकारको संरचनालाई लिएर बरादर खुशी नरहेको र सोही कारण पनि विवाद भएको जनाइएको छ ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्