स्थगित राष्ट्रिय जनगणनाको कार्य आजदेखि पुनः सुरु हुँदै

काठमाडौँ – स्थगित राष्ट्रिय जनगणना २०७८ को बुधबारदेखि सूचीकरण कार्य सुरु हुने भएको छ।

मन्त्रिपरिषद् बैठकले स्थगित जनगणना कार्यलाई भदौदेखि मंसिर महिनासम्म सम्पन्न गर्ने निर्णय गरेसँगै बुधबारदेखि सूचीकरण कार्य सुरु हुने भएको हो।

केन्द्रीय तथ्यांक विभागका अनुसार सूचीकरण कार्य असोज १८ गतेसम्म हुनेछ। त्यस्तै कार्तिक १३ देखि १६ गतेसम्म गणकहरुको तालिम हुने विभागले जनाएको छ।

जनगणनाको संशोधित कार्यतालिकाअनुसार कार्तिक २५ देखि मंसिर ९ गतेसम्म मूल गणना कार्य हुनेछ।

राष्ट्रिय जनगणनाको लागि विभागले गत चैतमै सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरिसकेको छ। पूर्वनिर्धारित तालिकाअनुसार जेठ २५ गतेबाट असार ८ गतेभित्र १२ औँ राष्ट्रिय जनगणना हुनुपर्थ्याे । तर कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जनगणना कार्य स्थगित गरिएको थियो।

‘मेरो जनगणना, मेरो सहभागिता’ नारा तय गरिएको राष्ट्रिय जनगणना नेपालमा गणतन्त्र स्थापना भएपछि पहिलोपटक हुने भएको हो।

नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो। त्यसयता हरेक दस–दस वर्ष हुँदै आएको मानिन्छ तर यस वर्ष कोरोना भाइरस महामारीले धकेलिएजस्तै पाँचौँ राष्ट्रिय जनगणना पनि निर्धारित मितिभन्दा पछि सम्पन्न भएको बताइएको छ।

जनगणना २०६८ को तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख रहेको छ। त्यसैगरी १ सय २५ जातजाति, १ सय २३ भाषा, १० वटा धर्म मान्ने समुदाय रहेका छन्।

तथ्यांक विभागका अनुसार मंगलबारसम्म नेपालको जनसंख्या ३ करोड ४ लाख ६४ हजार ७६४ रहेको छ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्