सस्तियो विद्युतीय नगद कारोबार

फाइल तस्बिर।

काठमाडौँ – विद्युतीय माध्यमबाट गरिने कारोबार सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोबाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो भएको जनाएको हो।

राष्ट्र बैंकले मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क तोकेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको छ ।

अब बैंक तथा वित्तीय संस्थाहरुले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा रकम पठाउन चाहनेले २० रुपैयाँ शुल्क तिर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार ५० हजारभन्दा माथि एक लाख रुपैयाँसम्म २० रुपैयाँ र एक लाख रुपैयाँभन्दा माथि ३० रुपैयाँ शुल्क लाग्नेछ।

यसअघि बैंकहरुले मोबाइल बैंकिङद्वारा अर्को बैंकको खातामा रकम पठाउँदाको शुल्क आफै निर्धारण गरेका थिए।

राष्ट्र बैंकले एक बैंकको कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रतिमहिना दुई पटकसम्म निशुल्क कारोबार गर्न सकिने व्यवस्थालाई निरन्तरता दिएको छ।

यस्तै बैंकहरुले प्रतिकारोबार २० रुपैयाँभन्दा बढी लिन पाउने छैनन्। कोरोना रोकथाम तथा नियन्त्रणका बेला राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोगको शुल्क नलिन निर्देशन दिएको थियो।

प्रतिकारोबार २५ रुपैयाँदेखि एक सयसम्म शुल्क लिने गरेका बैंकहरुले अब भने अधिकतम २० रुपैयाँमात्रै लिन पाउने राष्ट्र बैंकले निर्देशन दिएको छ।

बैंकहरुले विद्युतीय कारोबारमा लाग्ने शुल्कको जानकारी पनि वेवसाइटमै राख्नुपर्नेछ। कम्तिमा ६÷६ महिनामा शुल्कबारे अपडेट गराउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ।

यस्तै बैंकबाट भुक्तानी सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टबाट ‘पोइन्ट अफ सेल्स वा पोइन्ट अफ ट्रान्जेक्शन’ मेसिनमार्फत गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क नपाउने व्यवस्था पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

सेवा सञ्चालन गर्दा लाग्ने शुल्क, ब्याज तथा हर्जानासम्बन्धी व्यवस्था सेवा प्रदान गर्ने संस्था र सेवाग्राहीबीच भएको सम्झौतामा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्