प्रचण्डको घोषणाः निर्वाचन प्रणाली, शासकीय स्वरुपका लागि सडकमा जान तयार

फाइल फोटो।

काठमाडौँ –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको निर्वाचन प्रणाली, शासकीय स्वरुपमा आफ्नो अडान यथावत भएको भन्दै आवश्यक परेमा त्यसका लागि सडकमा जाने घोषणा गरेका छन् ।

बुधबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले आफ्नो माग पुरा गर्न संविधान संशोधन आवश्यक भएको र त्यसका लागि सडकमा पुग्नुपर्ने अवस्था आएमा त्यसबाट पछि नहट्ने बताए ।

उनले भने,‘ हाम्रो पार्टीका कतिपय माग पुरा भएका छैनन् । हामी मुलुकमा निर्वाचन प्रणाली, शासकीय स्वरुपका विषयमा यथावत छौँ । पहिला पनि नोट अफ डिसेन्ट लेखिएको थियो । अहिले पनि आवश्यक परे सडकमा जान तयार छौँ।’

प्रचण्डले माओवादी पार्टीलाई अहिले पनि कसैले जित्न नसक्ने दाबी गरे । आगामी निर्वाचनमा एक नम्बरको पार्टी माओवादीलाई बनाउने गरी आफू जुटेको उनको भनाइ छ । पछिल्लोपटक नेताहरुमा स्वार्थ हावी भएको, व्यक्ति केन्द्रित राजनीति बढाएको र माओवादी पनि अरु बुर्जुवा पार्टी जस्तै बन्ने खतरा बढेको टिप्पणी पनि प्रचण्डले गर्न भ्याएका छन् ।

उनको पार्टीको हिजो स्थायी कमिटी बैठक बसेको थियो। बैठकले विधान पारित गर्नुका साथै आगामी पुसमा गरिने राष्ट्रिय सम्मेलनको तयारीका लागि आवश्यक निर्वाचन आयोग गठन गरेको थियो ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्