दिगो सीप परियोजना कार्यान्वयनका लागि नेपाललाई स्वीट्जरल्याण्डको एक अर्ब ८८ करोड अनुदान

काठमाडौँ – स्विट्जरल्यान्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ।

दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश १, बाग्मती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेसागत तालिममा खर्च हुनेछ।

मुलुकका बेरोजगार युवालाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्न स्विस सरकारबाट अनुदान प्राप्त हुन लागेको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्माले बताए।

सामाजिक–आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औँल्याउँदै परियोजनाबाट युवावर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे।

औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेसागत तालिम, कामदारको सीप अभिवृद्धि, पेसागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग–व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परियोजनामार्फत कार्यान्वयन हुने उनले बताए।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा महाशाखा प्रमुख शर्मा र यहाँस्थित स्वीटजरल्याण्डका कार्यवाहक राजदूत सिल्भाना हगले हालै हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्