प्रतिमान निमा स्मृति फाउण्डेशद्वारा प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मोरङ– प्रतिमान निमा स्मृति फाउण्डेशनले प्रदेश १ सरकारलाई करिब एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

फाउण्डेसनले बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि  मुख्यमन्त्री भीम आचार्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो। अमेरिकी गैरसरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले विभिन्न ११ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

सो क्रममा मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय भएको बताएका थिए। उनले २००७ सालका क्रान्तिका योद्धा प्रतिमान चन्द्र बोहोराको स्मृतिमा बोहोरा परिवारले फाउण्डेशनमार्फत स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले आगामी दिनमा प्रदेश सरकारसँग समन्वय गर्दै कोरोना महामारीसँग लड्न र बच्नका लागि आवश्यक पर्ने थप सामाग्री, प्रशिक्षण लगायतको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेकी थिइन्।

फाउण्डेसनले स्वास्थ्यकर्मीले लगाउने गाउन २ हजार ४ सय थान, फेसशिल्ड २ हजार ३ सय ३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १ हजार ८ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेसशिल्ड १ हजार ८ सय ९० थान, पिपिई सेट ५ सय ५२ सेट, ईएमरजेन्सी रिलिफ बेड ४ थान, पञ्जा १ लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३ सय ६० थान रहेको छ।

कार्यक्रममा समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फडिण्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो।

संस्थाले यसअघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ। केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन्।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्