हुम्लामा एक सातापछि विद्युत् आपूर्ति सुचारु

हुम्ला – हिल्दुम साना जलविद्युत् आयोजनाको वितरण केन्द्रले बन्द भएको एक सातापछि आपूर्ति सुचारु गरेको छ। फर्बे ट्याङ्की नजिकको ओभर फ्लोको पाइप निकास स्थानमा ग्याबिन वाल र सिमेन्टको काम सम्पन्न भएपछि कामचलाउ रूपमा विद्युत् सुचारु भएको हो।

मर्मतको काम पूर्णरूपमा सम्पन्न नभएपछि कामचलाउ भएपछि विद्युत् सुचारु गरिएको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए। कर्मचारीले पालो दिएर नहरबाट पानी आपूर्ति गर्न सकिने भएपछि बन्द गरिएको एक सातापछि विद्युत् सुचारु भएको उनले बताए।

ओभर फ्लो पहिरोले बगाएको मुख्य क्षेत्रमा ग्याबिन वाल लगाउने र त्यसमा सिमेन्टको काम सम्पन्न भएपछि अस्थायी रूपमा विद्युत् सुचारु गरिएको हो।

यसबाट पूर्णरूपमा विद्युत् भने उत्पादन हुने छैन। राति १० बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने केन्द्रले जनाएको छ।

भदौ ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्