अफगान महिला फुटबल टिमका सदस्यहरुले तत्कालका लागि पाए पाकिस्तानमा शरण

अफगानिस्तानको जुनियर महिला फुटबल टिमका सदस्यहरु पाकिस्तान गएका छन् । तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच जुनियर महिला टोली पाकिस्तान विस्थापित भएको हो ।

तालिबानले काबुल कब्जा गरेयता उनीहरु लुकेर बसेका थिए । गएको महिना नै उनीहरु काबुलबाट बाहिर गएका थिए तर पासपोर्टसहितका अरु अत्यावश्यक कागजात भने थिएन ।

तर ‘फुटबल फर पिस’ ले पाकिस्तानसँग खेलाडीहरुको सुरक्षालाई लिएर पहल गरेको थियो । त्यसपछि ३२  अफगान खेलाडी र उनीहरुका परिवारका सदस्यले भिसा पाएका हुन् ।

पाकिस्तान फुटबल फेडेरेशनका एक अधिकारीका अनुसार कुल ८१ जनालाई लाहोरमा रहेको फेडेरेशनमा राखिने छ। अरु थप ३४ जना बिहीबार पाकिस्तान पुग्ने जनाइएको छ ।

कडा सुरक्षामा खेलाडीहरु ३० दिनसम्म पाकिस्तानमा रहने छन् । त्यसपछि उनीहरुले तेस्रो देशमा शरणका लागि आवेदन दिने छन् ।

खेलाडीहरुले केही समय पहिले तत्कालका लागि आफूहरुलाई पाकिस्तान प्रवेशको अनुमति दिन प्रधानमन्त्री इमरान खानलाई पत्र लेखेको हालै द इन्डिपेन्डेन्टले खुलासा गरेको छ ।

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्