दाङमा स्वास्थ्य बीमामा आकर्षण कम

दाङ – दाङ जिल्लामा गत बैशाख महिनाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरियो। जिल्लाका सबै नागरिकलाई यो बीमा कार्यक्रममा आवद्ध गराउनुपर्ने लक्ष्य राखियो। तर स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको आकर्षण कममात्रै देखिएको छ।

कोरोना भाइरस संक्रमणका कारण बीमा कार्यक्रमलाई व्यापक बनाउन नसकिएको स्वास्थ्य बीमा बोर्डले दावी गरेको छ। तर स्वस्थ्य बीमा बनाउने काममा नागरिकले अनिच्छा व्यक्त गरेका छन्। बिरामी हुँदा बीमा बनाउन खोज्ने तर सामान्य अवस्थामा बीमा कार्यक्रमप्रति नागरिकको वेवास्ता छ।

नेपाल सरकारले स्वास्थ्य बीमा बोर्ड स्थापना गरेर दाङसहित देशका ७७ जिल्लामा यो कार्यक्रम लागू गरेको छ। बीमा कार्यक्रमको उद्देश्य राम्रो भए पनि नागरिकको आकर्षण बढ्न नसकेको हो।

‘हामीले गाउँमा गएर भन्छौं। कार्यक्रम राम्रो हो भन्ने प्रतिक्रिया आउँछ। तर बीमा गर्ने बेलामा पछि हट्ने गरिन्छ’, लमही नगरपालिका– ५ की बीमा दर्ता सहयोगी सरला पौडेलले भनिन्, ‘उपचार खर्च बढ्न थालेपछि मान्छेले कसरी सहुलियत पाइन्छ भनेर खोज्न थाल्नुहुन्छ। समयमा बीमा वनाउँदा एक वर्षमा एक लाख रुपैयाँसम्मको निःशुल्क औषधोपचार गर्न पाइन्छ । यही कुरा गर्छौं तर धेरैले वास्ता गर्नुहुँदैन।’

दाङ जिल्लाका दश स्थानीय तहका एक सय वडामा बीमा कार्यक्रम लागू छ। जसमध्ये अहिलेसम्म १२ हजार तीन सय ३२ जनाले स्वास्थ्य बीमा गरेका छन्। जिल्लावासी सबैलाई बीमा कार्यक्रममा आवद्ध गराउने लक्ष्य रहे पनि सफल नभएको स्वास्थ्य बीमा बोर्ड दाङका कार्यक्रम संयोजक गोपीलाल वलीले जानकारी दिए।

उनका अनुसार घोराही उपमहानगरपालिकामा चार हजार एक सय ३ जना, तुलसीपुर उपमहानगरपालिकामा तीन हजार ४२, लमही नगरपालिकामा ८ सय ९० जना कार्यक्रममा आवद्ध भएका छन्।

त्यस्तै राप्ती गाउँपालिकामा ७ सय ७९, गढवा गाउँपालिकामा दुई सय ६५, राजपुर गाउँपालिकामा ५ सय २४, बबई गाउँपालिकामा एक हजार ६०, बंगलाचुली गाउँपालिकामा ५ सय २७, दंगिशरण गाउँपालिकामा ६ सय ३५ र शान्तीनगर गाउँपालिकामा ५ सय ७ जनाले स्वास्थ्य बीमा गराएका छन्।

एउटा घरमा एकजनादेखि ५ जनासम्मको परिवार सदस्य छ भने त्यसलाई एउटा एकाइ मानिएको छ। जसलाई स्वास्थ्य बीमा गर्न ३ हजार पाँच सय रुपैयाँ लाग्छ। परिवार सदस्य थपिँदै गए बीमा गर्ने रकम र पाउने सुविधाको रकम पनि बढ्दै जाने व्यवस्था छ।

जिल्लाभित्र बीमा कार्यक्रममार्फत उपचार पाउने अस्पताल तथा स्वास्थ्य संस्था तोकिएका छन्। बंगलाचुली गाउँपालिकाको हकमा बंगलाचुली अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा, घोराही क्षेत्रको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, देउखुरी क्षेत्रको लागि लमही अस्पताल, पश्चिम दाङको लागि राप्ती प्रादेशिक अस्पताल र श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र तोकिएका छन्।

स्वास्थ्य बीमा कार्यक्रमले अति गरिब, मध्यम गरिब, अति अशक्त अपांगता (रातो परिचयपत्र प्राप्त) व्यक्ति, एचआईभी संक्रमित, एमडीआर टीवी, कुष्ठरोगी, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क बीमा बनाउने नीति लिएको छ।

यसका साथै महिला स्वास्थ्य स्वयंमसेविकाको हकमा आधा रकम तिरेर बीमाको सुविधा छ।

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्