सिडिओको इन्चार्ज टू इन्चार्ज सरुवा, डीएसपी जिल्ला प्रहरी प्रमुख भएका ठाउँमा सहसचिव सिडिओ

काठमाडौँ – गृह मन्त्रालयले बुधबार निकालेको काज सरुवाअनुसार १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी-सिडीओ फेरिए। उपसचिव र सहसचिवको सरुवा गरिएकामध्ये दुईजना सिडिओको सरुवा ‘इन्चार्ज टू इन्चार्ज’ भयो।

गुल्मीकी सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरको सिडिओका रुपमा सरुवा गरिएको छ। रुपेन्देहीका सिडिओ आशमान तामाङ पनि सिडिओकै रुपमा सरुवा भएका छन् चितवनमा। सामान्यतया इन्चार्ज टू इन्चार्ज सरुवा गरिँदैन।

यसले व्यावसायीकतामा असर पुर्‍याउन सक्ने तथा मनोमानी हुन सक्ने तथा अन्य अधिकारीलाई पनि समान अवसर प्रदान नहुन सक्ने मान्यता राख्ने गरिन्छ। तर गृह प्रशासनमा प्राय: निकालिने सरुवामा केही सहसचिवहरुको सिडिओबाट सिडिओमै सरुवा हुने गरेको छ।

सहसचिवको दरबन्दी थोरै हुनुलाई यसको कारण बताइन्छ। हाल नेपालका ७७ जिल्लामध्ये ६१ जिल्लामा सिडिओको रुपमा सहसचिवको दरबन्दी छ भने १६ जिल्लामा मात्र सिडिओका रुपमा उपसचिवको दरबन्दी छ।

गत वर्ष उपसचिवले जिल्ला प्रशासन चलाउँदै आएको १९ जिल्लामा सहसचिवलाई उक्त जिम्मेवारी ‘सिडिओ’ दिने निर्णय भएको थियो। सहसचिव कम हुँदा इन्चार्ज टू इन्चार्ज सरुवा हुने गरेकामा पछिल्लो निर्णयले त्यसको सम्भावना थप बढिरहेको छ।

प्रहरी नेतृत्वसँग तालमेल मिलेन 

गृह मन्त्रालयको पछिल्लो निर्णयअनुसार दोलखाको प्रमुख जिल्ला अधिकारीका रुपमा सहसचिव टेकराज निरौला पुगेका छन्।

यसैगरि संखुवासभाको जिम्मेवारी सहसचिव नुरहरी खतिवडालाई दिइएको छ। यसअघि यी दुवै जिल्लाको सिडिओ उपसचिव थिए। सहसचिवहरुले यी जिल्ला सम्हालिरहँदा त्यहाँको प्रहरी नेतृत्व भने प्रहरी नायब उपरिक्षक-डीएसपीको जिम्मामा छ।

सहसचिव सिडिओ भएका जिल्लामा एसपीलाई र उपसचिव सिडिओ भएका जिल्लाको प्रहरी प्रमुख डीएसपीलाई दिइने गरिएको छ।

सहसचिव राजपत्रांकित प्रथम श्रेणीको दर्जा हो भने  डीएसपी, एसपी र उपसचिव राजपत्रांकित द्धितिय श्रेणीका दर्जा हुन्।

यसअघि प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक एआईजीलाई दिइँदा निजामतीसँग तालमेल नमिलेपछि त्यहाँ पछि डीआईजीलाई खटाइएको थियो।

यसले गर्दा सरकारले एआईजीको दरबन्दी नै घटाएको थियो। संघका सहसचिव प्रदेशमा सचिव हुने गर्छन्। एआईजी विशिष्ट श्रेणी पद भएकाले प्रथम श्र‍ेणी सरहको डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको थियो।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्त कुँवर हाल देशभरका जिल्लामध्ये ४० वटामा एसपी र ३५ जिल्लामा डीएसपीले नेतृत्व गरिरहेको बताउँछन्। काठमाडौँ र ललितपुरको प्रहरी प्रमुख भने एसएसपी हुने व्यवस्था छ।

नेपाल प्रहरीमा एसएसपीको दरबन्दी प्राविधिकबाहेक एक सय ३३ रहेको छ। यसैगरी डीएसपीको दरबन्दी प्राविधिकबाहेक ३ सय ४५ छ। २०७२ सालमा डीएसपीले चलाउँदै आएका १० वटा पहाडी जिल्लाको जिम्मेवारी एसपीलाई दिने निर्णय भएको थियो। ती जिल्लामा इलाम, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, बाग्लुङ, पाल्पा, गुल्मी, सिन्धुली र गोरखा रहेका छन्।

 सहसचिवलाई भ्याई नभ्याई, एसपीलाई पालो पाउनै मुस्किल 

२०५८ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेकामध्ये अहिले ४० भन्दा बढी एसपी छन्।

उनीहरुको तीन चरणमा बढुवा भयो। २०७५ फागुन, २०७७ वैशाख र २०७७ माघमा गरि तीन ‘लट’मा बढुवा भएको थियो। यीमध्ये करिब एक दर्जनले मात्र हालसम्म जिल्ला चलाउने अवसर पाएका छन्। कुनै समय पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ रहेका दानबहादुर मल्लले मात्र दुई वटा जिल्ला सम्हालेका छन्। उनिहरुबाहेक २०५४ र २०५६ सालमा सेवा प्रवेश गरेकाहरु अहिले एसपी छन्।

उनीहरुमध्ये केहीले दुईवटा जिल्ला हाँकेका छन्। सहसचिवले सिडिओ चलाउने जिल्ला बढेसँगै एसपी जिल्ला प्रमुख हुने जिल्ला पनि बढ्नुपर्ने प्रहरी प्रवक्ता कुँवर बताउँछन्।

‘यो आवश्यकता त हो तर यस विषयमा कुनै छलफल भएको छ‌ैन’, कुँवर भन्छन्। एसपीले नेतृत्व गरेका जिल्लामा पनि उपसचिवले कामु सिडिओ चलाइरहेको उदाहरण दिँदै उनले काममा असर भने नपर्ने बताए। नीति निर्माणमा पुग्ने प्रहरी अधिकारीका लागि वृत्त, इलाका, जिल्ला हुँदै प्रदेश नेतृत्वको अनुभव हुनु महत्वपूर्ण मानिन्छ।

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्