स्कुल: खोल्दा पनि तनाव, नखोल्दा पनि तनाव

भक्तपुरको टौमढी क्षेत्रमा फुटपाथ व्यवसायी आमासँग मोबाइलमा कार्टुन हेर्दै एक बालक। तस्बिर: ईश्वर खाइजु


खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका धनबहादुर मगर कक्षा १० पढ्छन्। घरमा मोबाइल नेटवर्क राम्रोसँग नआउँदा उनी घरभन्दा पर उचाइमा रहेको एउटा रूखमै डेरा जमाएर बसेका छन्। जहाँ मोबाइल नेटवर्क राम्रो भएपछि उनले सोही रूखमा डेरा जमाएर अनलाइन कक्षा लिन थालेका छन्।

सविन श्रेष्ठ (नाम परिवर्तन) आमाबुबाका एक्लो छोरा। देशको राजधानी काठमाडौँ बस्ने उनी पनि कक्षा १० मै पढ्छन्। स्कुलले अनलाइनमार्फत कक्षा लिने भनेपछि आमाबुबाले सबै बन्दोबस्त गरिदिए। आमा बुबा दुवै जागिरे। छोरा घरमै बसेर अनलाइन कक्षा लिन्छन्। अफिस गएका आमाबुबाले छोराले कक्षा लिए-नलिएको बेलाबेला जाँच गरिरहन्छन्।

छोरा अनलाइनमा देखेर आमाबुबा पनि निश्चिन्त छन्। तर, एकदिन आमाको कार्यालयमा चाँडै छुट्टी भएर घर पुग्दा मूलढोकामा ताला लगाएको देखे। छोरा अनलाइन कक्षा लिने घरको मूल ढोकामा ताल्चा? आमा विलखबन्दमा पर्छिन्। आफूसँग भएको मास्टर साँचोबाट ताला खोलेर घरभित्र छिर्दा आमा झन्डै बेहोस भइनन्। घरभित्र छोरा भेटिएनन् तर उनको मोबाइल भने अनलाइनमै थियो। मोबाइलमा स्कुलका शिक्षकले अनलाइनमार्फत कक्षा लिइरहेका थिए। तर, छोराले अनलाइन कक्षासमेत बंक गरे।

घरभाडा नतिरेको भन्दै घरजग्गाधनीले राजधानीको चाबहिलस्थित इडन स्कुलको भौतिक संरचनामा डोजर लगाए। उनले स्कुलले बहाल नतिरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत हाले। मुद्दा जितेको भन्दै घरजग्गाधनीले काठमाडौं महानगरपालिकालाई साक्षी राखेर विद्यालयका भौतिक संरचनामाथि डोजर लगाइएको हो। स्कुल सञ्चालक आफूमाथि अन्याय भएको भन्दै उच्च अदालत गएका छन् तर न्याय पाउन सकेका छैनन्।

यी माथिका तीन उदाहरणले कोरोना भाइरस महामारीले नेपालको शिक्षा र शिक्षा सम्बद्ध क्षेत्र कति प्रभावित छ भन्ने स्पष्ट हुन्छ।

चैत ११ गतेदेखि कोरोना महामारीका कारण निषेधाज्ञा गरियो। सरकारले विद्यार्थीको भौतिक उपस्थितिले कोरोना भाइरस संक्रमण हुने भन्दै निषेधाज्ञाको अवधिमा वैकल्पिक माध्यमबाट पठनपाठन गर्न निर्देशन दियो। यसअनुसार विद्यालयले आफ्नो क्षमताअनुसार अनलाइन माध्यमबाट कक्षा लिने व्यवस्था गरे तर अनलाइन कक्षाको अवस्था कस्तो छ उदाहरण १ ले प्रस्ट पार्छ।

सहरी क्षेत्र, जहाँ नेटवर्कको समस्या छैन त्यहाँ अनलाइनमार्फत कक्षा लिन सकिएला। जुन कति प्रभावकारी छ भन्ने प्रश्नलाई बिर्सने हो भने अनलाइन कक्षा सहरी क्षेत्रका अभिभावकका लागि बोझ हो। सहरी अभिभावकले अनलाइन कक्षाका लागि छोराछोरीलाई मोबाइल वा ट्याब किनिदिएर मात्रै पुग्दैन। आफैँ छोराछोरीको गोठालो बस्नुपर्छ। घरमा इन्टरनेट जोड्नुपर्‍यो। यो निम्न आय भएका कामकाजी अभिभावकका लागि थप हरेक दृष्टिले बोझ हो।

जसोतसो निजी स्कुलमा छोराछोरी भर्ना गरेका अभिभावकले स्कुलबाट लिने अनलाइन कक्षाका लागि के–कसरी मोबाइल र इन्टरनेटको व्यवस्था गरे होलान् अध्ययनको विषय छ।

यस्तो अवस्थामा के सरकारी स्कुलका अभिभावकले छोराछोरीका लागि अनलाइन कक्षामा बस्ने प्रवन्ध मिलाए होलान् प्रश्न अनुत्तरित छ। सबैले अनलाइन कक्षा चलाएको र नचलाएको पक्षलाई ध्यान दिए तर उक्त कक्षामा कति सहभागी भए? स्कुल, अभिभावक र शिक्षकले कसरी अनलाइन कक्षाको बन्दोबस्त गरे ? र, विद्यार्थी अनलाइन कक्षाबाट लाभान्वित भए कि भएनन्? अनलाइन कक्षाको नाममा उमेर पुगेका विद्यार्थीको इमेल इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग पो गरिरहेका छन् कि ? यतातर्फ कमैको ध्यान गएको देखिन्छ।

खोटाङ हलेसीमा इन्टरनेट कनेक्सन कमजोर भएपछि रुखमा चढेर अनलाइन कक्षा लिँदै धनबहादुर मगर।

शतप्रतिशत विद्यार्थी छैनन् अनलाइन कक्षामा

निजी स्कुल सञ्चालकका अनुसार अनलाइन कक्षा सञ्चालन गरिए पनि शतप्रतिशत विद्यार्थी सहभागी छैनन्। कम लगानीका निजी स्कुललाई त अनलाइन कक्षा चलाउनसमेत धौधौ रहेको उनीहरू बताउँछन्।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) की उपाध्यक्ष दीपिका थापा कम लगानीका निजी स्कुलले चाहेर पनि प्रभावकारी अनलाइन कक्षा चलाउन नसकेको बताउँछिन्। योभन्दा बढी हविगत सरकारी विद्यालयको रहेको उनको भनाइ छ।

अनलाइनमार्फत कक्षा सञ्चालन गरिए पनि विद्यार्थीको सहभागिता र प्रभावकारी सिकाइ शंकाको घेरामा परेको उदाहरण २ ले प्रस्ट पार्छ। अनलाइन कक्षामा विद्यार्थी सहभागी भएको त देखिन्छ तर उसले कक्षा लिइरहेको छ कि छैन यकिन गर्न सकिने अवस्था छैन।

अनलाइनमार्फत कक्षा लिँदा भिडियो अन भए सम्बन्धित विद्यार्थीको प्रत्यक्ष उपस्थिति शिक्षकलाई जानकारी हुन्छ तर सबैले सधैं भिडियो अन गर्छ र अन गरिएको भिडियोसामु विद्यार्थी सधैं हुन्छ भन्ने हुँदैन। भिडियो अन नगरेकै भरमा उसले कक्षा नलिएको भन्न पनि नमिल्ने एक शिक्षक बताउँछन्।

तर, अनलाइन कक्षामा उपस्थिति भएको देखाउन मोबाइल अनमै छाडेर सविन जस्तै अन्य विद्यार्थी पनि घरबाहिर कतै बरालिएका छैनन् भन्ने अनलाइन कक्षाको औचित्य कहाँबाट कसरी पुष्टि हुन्छ ?

विद्यार्थी अनलाइन कक्षा नै बंक गर्छन्

त्यसैले कोरोना भाइरसको संक्रमण न्यून हुँदै आएकाले स्कुलमै भौतिक उपस्थिति गराएर कक्षा लिनुपर्नेमा सविनकी आमा जोड दिन्छिन्।

उनले अनलाइन कक्षा लिन लाखौं खर्चेर बन्दोबस्त गर्दा पनि छोराले अनलाइन कक्षा नै बंक गरेको भन्दै दुःखेसो पोखिन्।

त्यसमाथि घरमा बसेर अनलाइनमार्फत कक्षा लिइरहँदा छोराले के गरिरहेको होला, घरमा केही बिघ्न त गरेको छैन भन्ने तर्कना र चिन्ता दिनहुँ भइरहने उनले सुनाइन्। तर, सविनको अनलाइन कक्षा बंकले आफ्नो चिन्ता र तर्कना सबै माटोमा मिलेको उनको भनाइ छ।

‘हामी दुवै अफिस जान्छौँ। अफिस त जानु मात्रै थियो। मेरो मन त घरमै हुन्थ्यो’, उनले थपिन्, ‘छोराले अनलाइन कक्षा लियो कि लिएन, केही बिघ्न पो गरेको छ कि भन्ने तर्कना मात्रै आउँथ्यो। कार्यालयमा राम्ररी काम गर्न नै सकेकी थिएन तर छोराको हर्कतले सबै चिन्ता र तर्कना माटोमा मिल्यो।’

उनले खर्च गरेर पनि अनलाइन कक्षामा छोराछोरीको मन लाग्दैन भने स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर स्कुल खोल्न दिनु नै उचित हुने तर्क गरिन्।

‘कमसेकम बच्चाहरू स्कुल गएपछि निर्धक्क भएर आफ्नो काममा त जान पाइन्छ। मनमा अनेक तर्कना र चिन्ता त लिन पर्दैन’, उनले थपिन्, ‘स्कुल गएपछि केही न केही त सिक्लान् नि! अनलाइन कक्षामा जस्तो भाग्न त पाउँदैनन् नि!’

मर्दै साना निजी स्कुल

साना लगानीका निजी स्कुलले सामान्य दिनमै राम्ररी शुल्क उठाउन पाउँदैनन्। यस्ता स्कुलका अभिभावकले छोराछोरीलाई भर्ना त गर्छन् तर नियमित स्कुललाई बुझाउनुपर्ने शुल्क तिर्न आनाकानी गर्छन्। जाँच नआइकन अझ अन्तिम परीक्षाको परीक्षाफल हेर्ने बेला नआएसम्म यी स्कुलका अभिभावकले छोराछोरीको शुल्क तिर्दैनन्।

यस्ता अभिभावकलाई कोरोना संक्रमणकाल झन् राम्रो बहाना भएको विद्यालय सञ्चालक बताउँछन्। उनीहरूका अनुसार छोराछोरी अनलाइन कक्षामा सहभागी भए पनि अभिभावकलाई स्कुलमा आएर शुल्क बुझाउनुपर्छ भन्ने हतारो छैन।

तैपनि, यस्तै प्रवृत्तिका अधिकांश अभिभावक शुल्क उठाउन स्कुल खोल्न लागेको भन्दै उल्टै स्कुललाई आरोप लगाउन अघि सर्ने गरेको प्याब्सनकी उपाध्यक्ष थापा बताउँछिन्। उनले अनलाइन कक्षा प्रभावकारी नभए विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर अध्यापन गर्नु सबै स्कुलको दायित्व र जिम्मेवारी भएको बताइन्।

उपाध्यक्ष थापाले स्कुलले अनलाइनमार्फत पठनपाठन गरेको मात्रै शुल्क लिने गरेको बताइन्। ‘विद्यार्थी स्कुल आएको भए विभिन्न शीर्षकमा अभिभावकले शुल्क तिर्नुपथ्र्यो’, उनले भनिन्, ‘तर अहिले स्कुलले विशुद्ध पढाइ शुल्क मात्रै लिएका छन्।’

शुल्क ठूलालाई चैन, सानालाई आरोप

उनका अनुसार ठूला स्कुलमा पढाउने आर्थिक रूपमा सम्पन्न अभिभावकले भने खुरुखुरु सबै शुल्क तिरिरहेका छन्।

‘ठूला स्कुलले अनलाइनमार्फत पढाइसँगै योगा, फिटनेस, नाचगान गराइरहेका छन्। अभिभावक पनि सन्तुष्ट र खुसी देखिन्छन्। स्कुललाई खुरुखुरु सबै शुल्क पनि तिरिरहेका छन्’, थापाले थपिन्, ‘तर निम्न तथा मध्यम आय भएका अभिभावकले अनलाइन पढाइको शुल्क तिर्न पनि तिललाई पहाड बनाइरहेका छन्।’

सानो लगानीका निजी स्कुलले एकातिर अभिभावकले बेलामा शुल्क नबुझाउने र अर्कोतिर भनेको बेला बहाल नतिरेको भन्दै घरजग्गाधनीबाट गाली खानुपर्छ। उल्टै स्कुलले मुद्दा खेप्नुपर्छ। ऋण गरेर जोडेको भौतिक संरचनामा घरजग्गाधनीले जबरजस्ती डोजर लगाउँछ जुन उदाहरण तीनले स्पष्ट पार्छ।

यी स्कुलको अवस्थाले शुल्क उठाउन मात्रै स्कुल चलाउन खोजेको तर्क संगतपूर्ण नदेखिने काठमाडौं प्याव्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ जिकिर गर्छन्। ‘हामीले पढाएको शुल्कसमेत लिन नपाउने भए अभिभावकले आफ्ना बच्चा भर्नै नगरे भयो, अनलाइन कक्षामै नबसाए भो’, उनी आक्रोश पोख्छन्, ‘सरकारले स्कुल नै बन्द गराए भो नि त!’

दसैंपछि हुन्छ भने अहिले किन हुन्न ?

उनले दसैंको मुखैमा भएर स्कुल खोल्न नलागिएको सुनाए। ‘दसैंपछि खोल्न मिल्ने स्कुल अहिले किन खोल्न मिल्दैन?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे, ‘यो दृष्टिभ्रम मात्रै हो। सरकार र नगरपालिकाले निर्णय गर्नेबित्तिकै स्कुल खोल्न हामी जहिले पनि तयार छौँ। बजार सबै खुलिसक्यो। निषेधाज्ञा शून्यमा गइसक्यो। यस्तो अवस्थामा स्कुल, कलेज मात्रै बन्द गर्नुपर्छ भन्नु मूर्खता मात्र हो।’

उनले शुल्क उठाउन मात्रै स्कुल खोल्न हतार नगरेको बताए। शुल्क नउठाई निजी स्कुल बाँच्न नसकिने श्रेष्ठको ठहर छ। ‘के हामीलाई सरकारले अनुदान दिएको छ र?’, उनले थपे, ‘सरकारले शुल्क उठाएर चलाउ भनेरै निजी स्कुललाई स्वीकृति अनुमति दिएको छ भने निजीले शुल्क नउठाए सरकारी स्कुलले उठाउँछ त?’

स्कुल सञ्चालकहरूका अनुसार अहिले खुलेका स्कुलमा अभिभावकले आफ्ना छोराछोरी पठाइरहेका छन्। अब खुल्ने स्कुलमा पनि पठाउने उनीहरूको विश्वास छ। खुलेका स्कुलका अभिभावकको कुनै गुनासो सुनिएको छैन।

त्यसैले असोज १ गते भने पनि २ र ३ गते सार्वजनिक बिदा भएकाले असोज पहिलो सातादेखि काठमाडौँका सबै स्कुल खुल्ने प्याब्सन काठमाडौंका अध्यक्ष श्रेष्ठले अडान लिए।

‘सबै खुलिसकेको अवस्थामा स्कुलमा मात्रै कोभिडको जोखिममा छन् भन्नु हास्यास्पद कुरा हो। फेरि सरकार र नगरपालिकाले निर्णय गरेअनुसार हामीले स्कुल खोल्ने हो’, उनले थपे, ‘त्यसैले कोरोना संक्रमण हुन नदिन सरकार र नगरपालिका जिम्मेवार हुनुपर्छ, उनीहरूले जिम्मेवारी लिनुपर्छ। सरकारले निषेधाज्ञा लगाएका बेला हामीले स्कुल बन्द गरेकै छौँ। अहिले १२ कक्षाको परीक्षा नै विद्यार्थीको भौतिक उपस्थितिमा सुरु भइसक्यो।’

सिडिओको निर्णय 

काठमाडौँ प्रशासनले असोज १ गतेदेखि स्कुल नखोल्ने निर्णय बिहीबार गरेको छ। यदि सञ्चालक समिति र  अभिभावकहरुको निर्णयबाट स्कुल खोल्ने नै हो भने जिल्ला कोभिड समन्वय समितिसँग समन्वय गरेर सबै मापदण्डहरु पालना गरेरमात्र खोल्न सकिने काठमाडौँ प्रशासनले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।

स्कुल खोल्न हतार नगरौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको थियो। मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले स्कुल खोल्न वा नखोल्ने सम्बन्धित स्थानीय तहले निर्धारण गर्ने भए पनि स्कुल खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने बताए।

विद्यालय खोल्नुअगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ। स्कुल खोल्न हतारिएपछि मन्त्रालयले शिक्षा मन्त्रालयसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, प्याब्सन, एन प्याब्सन) र अभिभावक संघका प्रतिनिधिहरूको उपस्थितिमा बैठक भएको थियो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त बैठकले स्कुल खोल्न हतार नगर्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिएको हो।

‘स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आकलन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्र विद्यालय खोल्न सकिन्छ’, बैठकले गरेको निर्णय सुनाउँदै सचिव पौडेलले भने, ‘शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ।’

उनले कोभिड–१९ को संक्रमण घटे पनि जोखिम नघटेको बताए। नयाँ भेरियन्टसहितको कोरोना भाइरस बालबालिकाका लागि बढी घातक भएकाले स्कुल खोल्न हतार गर्न नहुने उनको जोड थियो।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि स्कुल खोल्न हतार नगर्न स्कुल सञ्चालकलाई निर्देशन दिइएको बताए। कोरोना संक्रमणको अवस्था हेरेर हाललाई परीक्षणको रूपमा कम विद्यार्थी उपस्थित हुने गरी सिफ्टमा स्कुल चलाउन सकिने उनको भनाइ छ।

‘अहिले गरिएको परीक्षण सफल भए दसैं–तिहारपछि संक्रमणको अवस्थालाई ध्यानमा राखेर स्कुल पूर्ण क्षमतामा चलाउन सकिन्छ’, प्रवक्ता शर्माले भने।

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्