स्कुल खुल्नुपर्छ, हामी तयार नै छौँ

अब स्कुल खोल्नु राम्रो हो। हामीले अभिभावकसँग राय सल्लाह मागेका छौँ। करिब ७० प्रतिशत अभिभावकले स्कुल खोल्नुपर्छ भनेर सुझाव दिएका छन्। केही अभिभावकले दसैं नजिकिँदै गरेकाले घर जानुपर्ने बताएका छन्। टिकट काटिसकेको भनेका छन्।

त्यसैले दसैंपछि स्कुल खोल्न उनीहरूको सुझाव छ। यसरी अभिभावकबाट दुई किसिमको कुरा आयो। धेरै ठाउँमा नगरपालिकाले स्कुल खोल्ने निर्णय पनि गरिसकेका छन्। कतै बाँकी छ।

दसैंको मुखमा स्कुल खोल्न सकेको खण्डमा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सकिन्छ। यसले विद्यार्थीको सही मूल्यांकन पनि हुन्थ्यो। र, विद्यार्थी धेरै समय घरमै बसेको हुँदा पुनर्ताजगी पनि हुन्थ्यो तर गम्भीर कुरा स्वास्थ्यको छ जुन स्कुलले मात्रै गरेर सम्भव हुन्न। घर, अभिभावक भएर विद्यार्थीमार्फत स्कुलमै पनि कोरोना संक्रमण हुन सक्छ।

अहिले सबै खुलिसके। सिनेमा हल खुला भइसक्यो। स्कुल मात्रै असुरक्षित भन्न मिल्दैन। बरु स्कुल अझ सुरक्षित हुन सक्छ किनभने स्कुलमा स्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सकिन्छ। स्कुलले सामाजिक दूरी राख्न सकिन्छ। सिफ्टमा पढाउन सकिन्छ। अझ परीक्षा त सिफ्टमै हुने हो।

त्यसैले अहिले तत्काललाई परीक्षण (ट्रायल) को रूपमा दसैंअघिसम्म विद्यार्थीको भौतिक उपस्थितिमा स्कुल सञ्चालन गर्न सकिन्छ। अनलाइन कक्षा र परीक्षाले सही मूल्यांकन भइराखेको छैन। भौतिक उपस्थितिमा परीक्षा चलाउन सकियो भने विद्यार्थीको सही मूल्यांकन पनि हुने थियो। त्यसपछि दसैंको छुट्टी दिँदा भयो। दसैंपछि संक्रमणको अवस्था हेरेर स्कुल चलाउन सकिन्छ।

स्कुल चलाएपछि संक्रमण बढ्यो भनेर फेरि बन्द गर्न नपरोस्। त्यसैले यो बडो संवेदनशील विषय हो। अभिभावक सबैले बुझेर बुझाएर मात्र स्कुल सञ्चालनमा ल्याउनुपर्छ। सरकार तथा स्थानीय तहले पनि बुझेर र बुझाएर मात्रै स्कुल चल्न दिने नदिने निर्णय दिनुपर्छ।

प्याब्सनका तल्लो एकाइलाई आफ्नो क्षेत्रको स्थानीय तहसँग समन्वय गर्न भनेका छौं। स्थानीय तहपिच्छे फरकफरक विचार र निर्णय आइरहेका छन्। काठमाडौँले स्कुल खोल्ने निर्णय गर्‍यो भन्दैमा भक्तपुर र ललितपुरले पनि खोल्ने भन्ने हुँदैन। स्कुल खोल्नुअघि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तय गर्नुपर्छ।

नगरपालिकाले कोरोनाकालमा स्कुल, अभिभावक, शिक्षक, विद्यार्थीले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड तय गर्नुपर्छ। ती मापदण्डको सूचनामूलक एवं सन्देशमूलक फ्लेक्स प्रिन्ट गरेर प्रत्येक स्कुललाई उपलब्ध गराउनुपर्छ। फ्लेक्सै दिन नसके त्यसको डिजिटल सामग्री उपलब्ध गराए स्कुल आफैँले प्रिन्ट गरेर ठाउँ–ठाउँमा टाँस्नेछन्।

तैपनि, नगरपालिकाले स्कुल खोल्ने निर्णय गर्छ भने स्कुल खोल्न हामी स्कुल सञ्चालक तम्तयार छौँ। मुख्य कुरा प्रिस्कुल, नर्सरी केजीका स–साना नानीबाबुलाई गाह्रो छ। उनीहरूलाई अनलाइन कक्षा पनि गाह्रो छ, भौतिक रूपमा पनि उत्तिकै गाह्रो छ। यसो भनिरहँदा उनीहरूलाई पढाइबाट वञ्चित गर्ने कुरा हुँदैन। बरु ती नानीबाबुलाई पनि मास्क लगाउन सिकाउने, अरुको मास्क प्रयोग गर्न नदिने, मास्क जथाभावी नफाल्न अभिभावकलाई सिकाउन सकिन्छ। मास्कको ठाउँमा फेस सिल्ड लगाइदिन सकिन्छ। यो मास्कभन्दा लगाउन सजिलो पनि छ, स्वास्थ्यका दृष्टिले प्रभावकारी पनि।

यसबाहेक धेरै समयदेखि बन्द स्कुलमा डिसइन्फेक्सन (निसंक्रमण) गर्ने, सरसफाइ गर्ने तथा रंगरोगन गर्ने काम सम्पन्न भइसकेका छन्। स्कुल डिसइन्फेक्सन गर्न नगरपालिकाले सघाउनुपर्छ। निजी मात्रै होइन सरकारी स्कुल पनि खुल्नुपर्छ। निजी स्कुल खोल्न हामी सञ्चालक सकारात्मक छौँ।

अनलाइन कक्षा प्रभावकारी भएन भने अभिभावकले शुल्क तिर्न गाह्रो मानिरहेका छन्। स्कुलले प्रभावकारी रूपमा अनलाइन कक्षा सञ्चालन गरे पनि विद्यार्थीको घरमा नेटवर्कको राम्रो सुविधा नभएको, बेलाबेलामा बत्ती जाने, एउटै मोबाइलबाट २–३ जना बच्चाले कक्षा लिनुपर्ने, शैक्षिक वातावरण नभएको अवस्थाका अभिभाकहरूले पढाइ शुल्कसमेत तिर्न आनाकानी गरिरहेका छन्। बिनाअवरोध अनलाइन कक्षा लिन पाएका अभिभावकले भने शुल्क तिरिरहेका छन्।

एकदिन आमाको अफिसमा चाँडै छुट्टी भएछ। उनी सीधै घर आइछन्। घर आउँदा ढोकामा ताल्चा लगाइराखेको रहेछ। उनी एकछिन अचम्ममा परिछन्। आफूसँग भएको साँचोले ताल्चा खोलेर घरभित्र छिर्दा कोठामा त मज्जाले अनलाइन कक्षा चलिरहेको रहेछ। तर, छोरा भने गायब! यस घटनाले घरमा बालबच्चा कसरी सुरक्षित हुन्छनु भन्ने?

कुरा रह्यो बढी शुल्क लियो भन्ने सवालको। भौतिक रूपमा कक्षा सञ्चालन हुँदा कोही डे बोडर्समा बसेको हुन्छ। कोही स्कुलमै खाना र खाजा खाने हुन्छन्। कोही आफैँ स्कुल पुग्छन्, कोही स्कुल बसमा आउँछन्। स्कुलबाट स्टेसनरी लिएका हुन्छन्। यी थप कुरा भए। तर, अहिले अधिकांश स्कुलले पढाइ शुल्क मात्रै लिइरहेका छन्। थप शुल्क लिएका छैनन्। तर, स्कुल त थप शुल्कले चल्ने हो नि ! पढाइ शुल्क त शिक्षकलाई तलब दिँदै सकिन्छ। जसले गर्दा अहिले भाडामा चलेका स्कुल त बन्द हुने अवस्थामा पुगेका छन्। घरजग्गा धनीले भाडा नदिएको भन्दै झगडा गर्न थालिसके। बिजुलीको पैसा किन नतिरेको भनिसक्यो। अन्य शुल्क नपाउँदा घरजग्गा धनीलाई बहाल दिन, अरू धेरै खर्च गर्न स्कुलले सकिरहेका छैनन्।

घरजग्गा धनीको घर त्यही बहालले चल्ने हुन्छ। जुन बहाल नपाउँदा स्कुलमाथि मुद्दा हाल्न सुरु भइसक्यो। घरजग्गा बहाल नतिरेकै कारण चाबहिलस्थित इडन स्कुलको भौतिक संरचनामा डोजर चल्यो। जिल्ला अदालतमा हालेको मुद्दा जित्यो भन्दै काठमाडौं महानगरपालिकाको रोहबरमा स्कुलका भौतिक संरचनामाथि डोजर चलाउनु कहाँसम्मको न्याय हो ? कोरोना महामारीको कारण निजी स्कुल बहालसमेत तिर्न नसक्ने भइरहेका छन्। त्यसैले स्कुल बचाउन भए पनि शुल्क त उठाउनै पर्‍यो। त्यसका लागि पनि विद्यार्थीको भौतिक उपस्थितिमा स्कुल त खोल्नै पर्छ। स्कुल खोल्नै पर्छ भन्दै गर्दा शिक्षक, विद्यार्थी, अभिभावकको स्वास्थ्यमा खेलवाड गर्ने पक्षमा पनि हामी छैनौँ।

अनलाइन कक्षा कति अभिभावकका लागि बोझ हुन थालेकाले पनि स्कुल खोल्नुपर्ने आवाज उठेको छ। यसका लागि राजधानीस्थित एउटा स्कुलको अभिभावकमा घटेको घटना बडो रोचक छ। आमाबुबा दुवै जागिरे अफिस जानुपर्ने। उनीहरूका छोरा एउटा मात्रै। आमाबुबा अफिस जाने बेलामा छोरालाई अनलाइन कक्षा लिएर घरमै बस्न भनेछन्। छोराले पनि हुन्छ भनेछन्। अफिस गएका आमाबुबाले पनि बेलाबेलामा छोरा अनलाइनमा भए नभएको हेर्ने र छोरालाई सधैं अनलाइनमा देख्ने रहेछन्।

एकदिन आमाको अफिसमा चाँडै छुट्टी भएछ। उनी सीधै घर आइछन्। घर आउँदा ढोकामा ताल्चा लगाइराखेको रहेछ। उनी एकछिन अचम्ममा परिछन्। आफूसँग भएको साँचोले ताल्चा खोलेर घरभित्र छिर्दा कोठामा त मज्जाले अनलाइन कक्षा चलिरहेको रहेछ। तर, छोरा भने गायब!

यस घटनाले घरमा बालबच्चा कसरी सुरक्षित हुन्छनु भन्ने? फेरि नर्सरी र केजीदेखि ४ कक्षासम्मका बच्चाबच्चीको अनलाइन कक्षामा अभिभावक साथमा नबसी हुँदै हुन्न। आमा या बाबुमध्ये एकजना गोठाला बस्नैपर्छ तर आमाबुबा जागिरे छन् भने उनीहरूले आलोपालो बिदा बस्नुपर्छ। त्यसैले अनलाइन कक्षा अभिभावकलाई महाबोझ भएको छ! बोझ भन्दाभन्दै अभिभावक प्रविधिमैत्री पनि बन्न पाएका छन्।

प्रविधिबारे सिक्न पाएका छन्। त्यसैले कोरोनाकाल अभिशाप मात्र होइन, बरदान पनि भएको छ। यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गरी स्कुल खोल्न जरुरी भइसक्यो। स्कुल खुल्दा एकजना मात्रै विद्यार्थीमा ज्वरो आयो, टाउको दुःख्यो भने स्कुल नपठाउन अभिभावकलाई सचेत गराउनुपर्छ।

सबैभन्दा ठूलो कुरा हामी विद्यालय सञ्चालकले १२ वर्षमुनिका बालबालिकालाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप दिने व्यवस्था गर्न सरककारसँग माग गरेका छौं। अभिभावक र शिक्षकले खोप लाइसकेका छन्। खोप पाउन बाँकी भनेको साना बालबालिकाले मात्रै हो। उनीहरूलाई खोपको व्यवस्था भए निर्धक्कसँग स्कुल खोल्न सकिन्छ।

(निजी विद्यार्थीहरुको संगठन प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापासँग ईश्वरकाजी खाइजुको कुराकानीमा आधारित) 

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्