चुनावमा जनताले ठेँगा देखाउनेछन्

दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीका जवानले तुइन फुस्काएको कारण महाकालीमा झरेर अहिलेसम्म बेपत्ता छन्। यस विषयमा प्रत्यक्ष देख्ने मानिसले बयान दिइसकेपछि पनि सरकारबाट भारत सरकारको विरोधमा एउटा कूटनीतिक नोटसम्म पठाउन पनि लामो समय लगायो।

अन्तर्गतका प्रशासकको कुरा बुझिसकेपछि तुरुन्त राजदूतलाई परराष्ट्रमा बोलाएर विरोध जनाई शीघ्र छानबिन गरी सम्बन्धित कसुरवालालाई कारबाहीका लागि दबाब दिनुपर्थ्यो। जनताको तर्फबाट अत्यधिक विरोधको बाबजुद सरकारले एउटा आयोग बनाएर त्यसको रिपोर्ट तयार गर्न पनि एक महिना लगायो। तैपनि, भारतीयलाई प्रत्यक्ष दोष लगाउन सकेन।

भारतीय सरकारका तर्फबाट हामीलाई कुनै पनि जानकारी नेपाल सरकारबाट आएको छैन भनी टारेको छ। एउटा निर्दोष नागरिकलाई भारतीयले मार्दा पनि प्रस्टसँग बोल्न नसक्ने निम्छरो सरकारबाट जनताले के आस गर्न सकिन्छ ? यो प्रतिनिधि घटनामात्र हो।

यसभन्दा केही समयअघि पनि कञ्चनपुरको सिमानामा एकजना नेपाली नागरिकको भारतीय सीमा सुरक्षा बलबाट गोली हानी हत्या भएको थियो। अहिलेसम्म धेरै नेपाली सिमानामा कुटिएका छन्, लुटिएका छन्। तर, सरकारका तर्फबाट बलियोसँग आवाज नउठाउँदा सिमानामा बसोबास गर्ने नेपाली पीडित भइरहेका छन्।

यदि, सरकार बलियो हिम्मतिलो भएर कार्य गर्ने हो र सिमानामा तैनाथ नेपाली प्रशासन र सुरक्षा बललाई प्रोत्साहन र हिम्मतिलो बनाउने हो भने उनीहरूलाई पनि चाहिने अधिकार दिन सक्नुपर्छ। यस्ता घटना भारत र बंगलादेशको सिमानामा पनि पहिले धेरै हुने गर्थे।

भारत छिर्ने बंगलादेशीलाई भारतीय सीमा सुरक्षा फौजले गोली चलाइरहँदा दशौं वर्षमा हजारौं नागरिकको मृत्यु भइसकेपछि एकपटक बंगलादेशी सीमा सुरक्षा बलले भारतीय सुरक्षा बलका ३०–३५ जनालाई गोली हानी मारेपछि बंगलादेश र भारतबीचको सीमा समस्या समाधान भएको छ। त्यसपछि दुवै देशका सिमानामा बलियोसँग फलामको तारको बार लगाई माइन पनि लगाइएको छ। त्यसपछि बंगलादेशी नागरिक अवैध रूपमा भारतमा छिर्न रोकिएको छ।

अब नेपालका सिमानामा तैनाथ सशस्त्र सुरक्षा बललाई परेको बेलामा भारतीय सीमा सुुरक्षा बलसँग टक्कर लिन सक्ने बनाउनुपर्छ। नेपालभित्र पसेर नेपाली नागरिकलाई पिट्ने, अपहरण गर्ने र मार्ने समेतको कार्य गरिँदा नेपाल प्रहरी होस् या सशस्त्र प्रहरी मूकदर्शक भएर बस्नु हुँदैन। कमसेकम आफूमाथि अन्याय परेमा प्रतिकार गर्न सके उनीहरू पनि अलिक सावधान हुनेछन्।

भारतले पनि नेपाली सुरक्षा बललाई सजिलै गोली हान्न आँट गर्ने छैन। तर, हाम्रो सरकार यति कमजोर भयो कि भारत सरकारको विरोधमा एक शब्द बोल्न पनि आँट गर्दैन। यो अत्यन्त दुःखदायी कुरा हो। सरकार अरु देशको प्रतिवाद गर्नुभन्दा जनतालाई दबाउन तयार हुन्छ।

नेपालले दुई छिमेकीलाई चिढ्याएर तेस्रो देशको हितमा मात्र काम गर्न थाल्यो भने यसले भविष्यमा नेपालको हित गर्ने छैन। महाकालीको तुइन प्रकरण र नेपाली आकाशमा भारतीय हेलिकप्टर उडाएको विषयमा बोल्न नसक्ने निम्छरो सरकारले विषयान्तर गर्दै चीनतर्फ अनावश्यक विवाद खडा गर्न खोजेको छ। यसको मूल्य देउवा सरकारका लागि निकै महँगो पर्न सक्छ।

अहिले अमेरिकी लगानीको नाममा आएको एमसीसी सहयोग यसको सम्झौताभित्र राखिएका केही सर्त नेपालको हितविरुद्ध छन् भनिएका छन्। यसको प्रतिवाद सरकार अमेरिकन राजदूतावासले पनि गर्न सकेको छैन। अत्यधिक बुद्धिजीवी तथा सर्वसाधारण जनताको विरोध गरी रहँदा सरकार जसरी हुन्छ एमसीसीलाई संसदबाट पास गराउन खोजिरहेको देखिन्छ।

एमसीसी नेपाल भित्र्याउनुुमा चीनलाई घेराबन्दीमा पारेर तिब्बतमा समस्या खडा गर्ने नियत देखिन्छ। यदि, यस्तो हो भने चीनले अवश्य पनि प्रतिक्रिया गर्न सक्ने र नेपाल युद्धभूमि हुने सम्भावना छ। त्यसैले राष्ट्रप्रेमी जनता एमसीसीविरुद्ध उत्रिँदा गृह मन्त्रालयले सूचना निकालेर कुनै पनि विदेशी सहयोगको विरोधमा आउने जनतालाई कारबाही गरिनेछ भनी चेतावनी दिन थालेको छ।

सरकारले जनताको आवाजको कुनै कदर नगर्नेमात्र होइन, अब जनता दबाउने कार्य पनि गरेको देख्दा सरकार कसको इशारामा चलिरहेको छ जनताले बुझ्न सकेका छैनन्। कुनै दिन यही देशका राजा जनताका सबै घरमा धुवाँ नआई अर्थात् खाना नखाई आफू नखाने थिए भनेर हामीले इतिहासमा पढेका थियौं।

अहिल सरकारमा बस्नेहरू जनताका आवाजमा ध्यान नदिनेमात्र होइन, विदेशीको इशारामा जनताको प्रतिकारमा चलेको बुझिन्छ। यो सिर्फ सत्ता स्वार्थका लागि मात्र विदेशीलाई खुसी पार्न खोजेको देखिन्छ।

हाम्रो दक्षिण, पूर्व तथा पश्चिम सिमानामा रहेको भारतसँग धेरै स्थानमा नेपालका सिमाना मिचिएका छन्। यसलाई समाधान गर्न भारतले सधैँ आनाकानी गरी अल्झाइरहेको छ। अझ दक्षिण सिमानामा भारतले सडक, बाँध बनाएर नेपालको तराईलाई वर्षायाममा पूरा जलमग्न बनाएको छ। यसमा विरोध गर्दा यसको सुनुवाइ भारतले कहिल्यै गर्दैन। खुला सिमानबाट अवैध तस्करी, आपराधिक घटना, हतियार गोलाबारुद ओसारपसार, नक्कली रुपैयाँको कारोबार आदिका अत्यन्त घातक कार्य भइरहेका छन्।

यसलाई समाधान गर्न पनि खुला सिमाना बन्द गरी सिमानालाई नियमित गर्नै पर्छ। दुवै देशका प्रधानमन्त्रीको मन्जुरीमा ईपीजीको सुुझाव तयार गरी भारतलाई बुझाएको धेरै वर्ष हुँदा पनि उसले यो महत्वपूर्ण सुझावलाई बेवास्ता गरिरहेको छ। यसतर्फ कांग्रेससहितको मिलिजुली सरकारको ध्यान गएको छैन।

अर्कोतर्फ उत्तरमा रहेको चीनसँग हाम्रो सिमाना मिचिएको छैन भनी विगतका सरकारले भनिरहेका थिए। अहिले अचानक कांग्रेसका केही सांसदले चीनले नेपालको सीमा मिचेको भनी अफवाह फैलाए। यसको लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले यसको तथ्य नबुझी या बुझपचाएर एकपक्षीय छानबिन टोली बनाई सिमाना चेक गर्ने आदेश दिइसकेका छन्।

यसबाट हाम्रो सम्बन्ध चीनसँग बिग्रन सक्ने देखिन्छ। यदि, चीनसँग सीमा विवाद छ भने दुवै देशले संयुुक्त रूपमा छानबिन गर्न सिमानामा प्राविधिसहितका विज्ञले चेक गर्नुपर्ने होइन र? नेपालले चीनसँग बीआरआई सम्झौता गरेर पनि यसपछि नेपालले चीनबाट प्राप्त हुने सहयोग लिन सकेको छैन। यसमा कर्मचारीलाई मात्र दोष दिएर सरकार उम्कन सक्दैन। खासगरी दक्षिणको छिमेकी रिसाउला भनेर चीनले गर्न खोजेका ठूला योजना पनि अघि बढाउन सकिएको छैन।

पहिला पनि बहुदलीय व्यवस्था आउनासाथ नेपाली कांग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मित्रराष्ट्र चीनको सहयोगमा निर्मित धेरै उद्योग कलकारखाना कौडीको मूल्यमा बेचर चीन सरकारलाई चिढ्याएको थियो।

यसलाई सपार्न विगतमा एमालेका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा कूटनीतिक सम्बन्ध सुुधार गरी यातायात तथा पारवाहन सन्धि गर्न सफल भएका थिए। प्रधानमन्त्री देउवाले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि देशसँग सम्बन्ध बिगार्न त्यति गाह्रो हुँदैन जति गाह्रो सम्बन्ध सुधार्न र उसको मन जित्न हुन्छ।

नेपालले दुई छिमेकीलाई चिढ्याएर तेस्रो देशको हितमा मात्र काम गर्न थाल्यो भने यसले भविष्यमा नेपालको हित गर्ने छैन। महाकालीको तुइन प्रकरण र नेपाली आकाशमा भारतीय हेलिकप्टर उडाएको विषयमा बोल्न नसक्ने निम्छरो सरकारले विषयान्तर गर्दै चीनतर्फ अनावश्यक विवाद खडा गर्न खोजेको छ। यसको मूल्य देउवा सरकारका लागि निकै महँगो पर्न सक्छ।

विदेशीलाई खुसी पार्न आफ्ना देशका जनतालाई दबाउन सकिएला तर निर्वाचनमा जनताको अभिमतको नकारात्मक लाठी बर्सियो भने राजनीतिक जीवन पनि समाप्त हुन समय लाग्ने छैन भन्ने कुरा नेतृत्व वर्गले समयमै बुझ्न जरुरी छ।

भदौ ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्