फेरि फैलिँदै छ स्क्रब टाइफस, विज्ञसँग ८ प्रश्न

२०७२ सालको भूकम्पपछि देखिएको स्क्रब टाइफस अहिले नेपालका विभिन्न जिल्लाहरुमा देखिँदै आएको छ। यो रोग सानो मात्रामा धेरै ठाउँमा देखिने विज्ञहरुले बताउँदै आएका छन्।

केही समययता अत्यधिक टाउको दुखाइ, ज्वरो, स्वास फेर्न गाह्रो हुने, खोकी, वाकवाकी, वान्ता, पखाला लाग्ने, पेट, जीउ, जोर्नी, मांसपेशी दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिएका बिरामी अस्पतालमा भरिन थालेका छन्।

यी लक्षणहरु कोरोना भाइरससँग मिल्दाजुल्दा भएका कारण धेरै व्यक्ति कोरोना भाइरसको संक्रमण भएको भन्दै अस्पताल पुग्ने गरेका छन्। अस्पताल पुग्ने गरेकामध्येमा स्क्रब टाइफस देखिएका चिकित्सकहरुले बताएका छन्।

तराईका विभिन्न क्षेत्रहरु जहाँ शौचालयको सुविधा छैन, खेतबारीमा काम गर्ने कृषकहरुमा स्क्रब टाइफसको बढी जोखिम रहने गरेको उनीहरुले बताएका छन्। अझै बढी साना बालबालिका बढी जोखिममा रहने गरेका छन्। यही स्क्रब टाइफसका बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीसँग गरिएको कुराकानीः

स्क्रब टाइफस भनेको के हो?

टाइफस एक धेरै पुरानो रोग हो। टाइफस धेरै प्रकारका हुन्छन्। जसमध्येको एक यो हो। स्क्रब टाइफस यसको ठ्याक्कै यही भनेर भन्दा पनि पशुपंक्षीबाट मानिसमा आउने रोगलाई जुनोटिक भनिन्छ। त्यही प्रकारको रोग स्क्रब टाइफस हो।

संक्रमण कसरी हुन्छ?

यसमा एक प्रकारको माइट हुन्छ। नेपालीमा हामी त्यसलाई किर्ना भन्ने गर्छौँ जुन पशुपंक्षीमा लाग्ने गरेको पाइन्छ। कुनैकुनै मानिसमा समेत पाइने गरेको छ। त्यही किर्नाले गर्मी बढ्न थालेपछि चैततिर फुल पार्छ। उक्त फुलबाट लार्भाहरु निस्किन्छ। जुन ६ वटा खुट्टा भएको जुम्राजस्तै सानोजस्तो लार्भा निस्किन्छ।

फुलबाट भर्खरै निस्केको लार्भा घाँस, झाडी, बुट्यानहरुमा टाँसिएर बस्छ। त्यही ठाउँमा मुसा, मानिसहरु ओहोरदोहोर गर्दा उनीहरुमा टाँसिन्छ। टोक्न थाल्छ।

मानिसभन्दा पनि मुसामा त्यस्तो ठाउँहरुमा धेरै यताउता गर्ने हुँदा किर्ना उसैमा टाँसिन्छ र त्यही मुसामा टाँसिएको किर्ना मानिसमा सर्छ।

लार्भा बढ्नका लागि पशु अथवा मानिसको शरीरमा आउनैपर्ने हुन्छ। मानिसको शरीरमा आयो भने छालामा टाँसिएर बस्छ।

तर यसले लामखुट्टेले जसरी रगत चुस्दैन, प्वाल बनाएर बस्छ। प्वालबाट केही तरल पदार्थ निस्कन्छ। त्यही तरल पदार्थ चुसेर ठूलो हुन्छ। अनि  शरीरबाट झर्छ।

तर किर्नाले चुसेको ठाउँबाट विभिन्न किटाणुहरु शरीरको भित्र छिर्छन्। जहाँबाट रोगको उत्पत्ति हुन थाल्दछ।

लक्षण कस्ता देखिन्छन्?

सबैमा एकैखाले असरहरु देखिँदैन। तर कुनै–कुनै मानिसमा स्कार हुने, टोकेको ठाउँ रातो हुने, निलो हुने, पानीको फोकाजस्तो आउने हुन सक्छ।

सुरुमा यस्ता लक्षण देखिएपछि बिस्तारै ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, बान्ता हुन सक्छ।

मुख्य लक्षण भनेको यिनै हुन्। टाइफस र टाइफाइडमा देखिने लक्षण झन्डै उस्तै–उस्तै हुन्छन्। जसले गर्दा यो रोग छुट्याउन गाह्रो हुन्छ। र, यसको टेष्ट पनि त्यति सजिलो छैन।

जसका कारण धेरै टाइफाइड भएको हुन सक्छ भन्ने दोधारमा हुन्छन्।

टाइफाइड र टाइफसको उपचार विधि एउटै हो?

टाइफाइडको उपचारमा प्रयोग हुँदै आएका औषधिले टाइफसको किटाणुलाई असर गर्दैन। उक्त औषधिले असर नगरेपछि १० दिन कटिसकेपछि बल्ल समस्या सुरु हुन सक्छ। र, टाइफसले दुई वटा अङ्ग दिमाग र फोक्सोमा असर गर्न सुरु गर्छ।

दिमागमा असर गरेर मेनेन्जाइटिस जस्तो बनाउँछ भने फोक्सोमा असर गरेर एक प्रकारको निमोनिया जस्तो बनाउँछ। यी दुईमध्ये जुन अङ्गमा धेरै असर गर्‍यो त्यही नै मृत्युको कारण बन्न सक्छ।

टाइफस कसरी पत्ता लाउन सकिन्छ?

यसको कल्चर गर्न धेरै गाह्रो छ। कठिनमध्येमा पर्छ, यो। तर प्रयोगशालामा किटको माध्यमबाट यसको परीक्षण गरेर थाहा पाउन सकिन्छ।

स्क्रब टाइफस मान्छेबाट मान्छेमा सर्छ?

यो मान्छेदेखि मान्छेमा सर्दैन। यो किर्नाबाट मात्रै सर्ने हो।

उपचार विधि के छ?

यसमा दुई वटा औषधि प्रयोग हुन्छ। बच्चा र गर्भवतीका छुट्टाछुट्टै हुन्छ भने अन्य व्यक्तिहरुका लागि फरक। यसको उपचारमा प्रयोग गरिने औषधि सस्तो छ।

यसबाट जोगिन के गर्ने?

घर वरपरको घाँस, झाडी नराखी सरसफाइमा ध्यान दिनुपर्छ। किर्ना भएको ठाउँहरुमा जानुपरे सर्तकता अपनाएरमात्र जानुपर्छ। किर्ना मुसामा हुने भएका कारण मुसालाई मार्दा विशेष सावधानी अपनाउनु पर्छ। र, मरेको मुसालाई घरभन्दा टाढा गहिरो खाल्डोमा गाड्नु पर्छ।

जिउँदो मुसामा किर्ना टाँसिरहन्छ भने मरेपछि यत्रत्यत्र छरिन्छ र मानिसमा सजिलै टाँसिन सक्छ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्