गोविन्दा र सुनिताले माफी नदिएको कृष्णाको दावी – दुश्मनी टुंग्याउने चाहना

बलिउडमा केही दिनदेखि बलिउड स्टार गोविन्दा र उनका भान्जा कृष्णाको सम्बन्धको बारेमा कुराकानी भइरहेको छ। हाँस्यव्यंग्य कार्यक्रम ‘द कपिल शर्मा शो’ मा गोविन्दा र उनकी पत्नी सुनिता अहुजा पाहुना आउने भएपछि कृष्णाले शोमा अनुपस्थित हुने जनाएका थिए। त्यसपछि गोविन्दा र कृष्णाको पारिवारिक मनमुटाव सार्वजनिक रुपमा नै छताछुल्ल भएको थियो।

नातामा गोविन्दाको भाञ्जा पर्ने कृष्णालाई माइजू सुनिता अहुजाले ‘फेरि कहिल्यै मुख हेर्न नपरोस्’ भन्ने प्रतिक्रिया दिएकी थिइन्। यही कुरा तन्किन छोडेको छैन।

सुनिता रिसले चुर भएकोबारे कृष्णा बेखबर छैनन् । अब भने उनी यस विषयलाई टुंग्यााउने बाटोमा हिँड्न चाहन्छन्। सुनिताको यो अभिव्यक्तिपछि कृष्णाले भनेका छन्, ‘मलाई थाहा छ मेरो मामामाइजूले मेरोविरुद्धमा धेरै कुरा भन्नुभएको छ, यसले म धेरै निराश भएको थिएँ। अहिले म अनुभूत गरिरहेको छु कि उनीहरु मलाई धेरै माया गर्ने भएर नै मसँग रिसाएका हुन्। फिल्मी संवाद ‘म उसको मुख अब दोहोराएर हेर्न चाहन्न’ ले उहाँहरुको मन कति दुखेको छ भन्ने देखाउँछ। तपाई जसलाई माया गर्नुहुन्छ, उसैले तपाईको चित्त दुखाउँछ।’

कृष्णाले आफू आवश्यक भएमा माफी माग्न तयार भएको जनाए । ‘म मेरो मामामाइजूलाई धेरै माया गर्छु, म उहाँहरुबाट माफी चाहन्छु, मैले धेरैपल्ट प्रयास गरेको हुँ तर उहाँहरुले मेरो क्षमायाचना स्वीकार गर्नु भएन। म उहाँहरुको सन्तान हुँ, तर मलाई थाहा छैन उहाँहरुले मलाई किन माफी दिनुहुन्न। मैले र उहाँहरुले नै धेरै अन्तर्वार्तामा यो विषयलाई सुल्झाउने बताएका छौँ तर अहिलेसम्म कुरा मिलेको छैन ।’

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्