भारतीय सरकारी कम्पनी कोन्करकाे ताेडियाे एकाधिकार, घटायो कार्गो भाडा

वीरगञ्ज – भारतीय कम्पनी कोन्करले कार्गाे भाडा घटाएको छ। कोन्करले सूचना जारी गर्दै रेलमार्फत नेपाल आउने कार्गाे भाडा घटाएको हो।

सिर्सिया सुख्खा बन्दरगाहमा बुधबार पहिलोपटक भारतीय निजी कम्पनीको रेल्वे कार्गाे आएसँगै कोन्करले भाडा घटाएको हो। ९० वटा कार्गाे बोकेको निजी कम्पनीको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आएको थियो।

यसअघि सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि २०६१ सालदेखि भारतीय सरकारी कम्पनी कोन्करले मात्रै कार्गाे ढुवानी गर्दै आएको थियो। जसका कारण कोन्करको कार्गाे ढुवानीमा एकाधिकार रहेको थियो। निजी कार्गाे आएसँगै कोन्करको एकाधिकार तोडिएको छ। जसले गर्दा प्रतिस्पर्धामा रहन उसले कार्गाे भाडा घटाएको हो।

कोन्कारले भारतको हल्दिया बन्दरगाहदेखि वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहसम्मको कार्गाे ढुवानीको भाडा प्रतिकन्टेनर २५ देखि ३१ प्रतिशतसम्म घटाएको छ। यसअघि कोन्करले कलकत्ता बन्दरगाहबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहसम्म २० फिटको कन्टेनरमा ३१ मेट्रिक टन तौलसम्मको कार्गाेको ढुवानीको लागि भा रु ६१ हजार ४ सय ६६ लिने गरेको थियो।

त्यस्तै ४० फिटको कन्टेरमा ३० मेट्रिक टन समान ल्याउँदा भारु ८५ हजार १ सय ९८ कार्गाे भाडा कोन्करले लिँदै आएको थियो। कोन्करले अब २० फिटको कन्टेनरको भाडा भारु ३९ हजार ८ सय ५६ तोकेको छ। ४० फिटको कन्टेरमा समान ढुवानी गर्दा भारु ५८ हजार ८ मात्रै तिर्नु पर्नेछ।

निजी कम्पनीको कार्गाे आएपछि कार्गाे भाडा घट्नुका साथै समय पनि बचत हुने व्यवसायीहरुले बताएका छन्। निजी कम्पनीबाट समेत कार्गाे आएपछि भाडा घट्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए।

अब खाली कार्गाे धेरै समयसम्म सिर्सिया बन्दरगाहमा रोकिने समस्या पनि समाधान हुने उनको भनाइ छ। यसबाट उद्योगीहरुलाई डिटेन्सन चार्जबापतको रकम पनि तिर्नु नपर्ने उनले बताए।

‘निजी कम्पनीको कार्गाे बन्दरगाहमा आउनु एकदमै खुसीको कुरा हो। यसले कार्गोको भाडा पनि घटाउँछ’ अध्यक्ष गुप्ताले भने, ‘अब भारत जान नसकी बन्दरगाहमा लामो समयसम्म खाली रहने कन्टेनरको उद्योगीले तिर्नुपर्ने डिटेन्सन चार्ज पनि बच्छ।’

वीरगञ्जमा निजी कार्गाे आएसँगै अन्य नाकाबाट हुने व्यापारसमेत वीरगञ्ज नाकामा केन्द्रित हुने गुप्ताको भनाइ छ।

भारतीय निजी कम्पनी हिन्द टर्मिनलले सुरु गरेको कार्गाे सेवा हप्तामा दुईपटक रेलमार्फत वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहमा कार्गाे लिएर आउने कम्पनीका निर्देशक ऋषि सिंहले जानकारी दिए।

उक्त सेवालाई अझै बढाउँदै लगिने उनले बताए।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्