नेपालटारमा ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन

काठमाडौँ – तारकेश्वर नगरपालिका– ११ नेपालटारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागले नयाँ भवन पाएको छ। नगरपालिकाद्वारा नवर्निर्मित तीन कोठे उक्त भवनको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

उक्त अवसरमा महानगरीय ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप वृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरी आवश्यकताअनुसार ट्राफिक प्रहरी परिचालन गर्दै आएका बताए।

नयाँ भवन निर्माण भएसँगै तारकेश्वर नगरपालिका क्षेत्रको सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि परिचालित ट्राफिक प्रहरीलाई थप सहज उनले जानकारी दिए।

एसएसपी भट्टराईले चक्रपथ बाहिरका केही स्थानमा अध्ययन गरी नयाँ ट्राफिक प्रहरी प्रभागसमेत स्थापना गर्ने योजना रहेको बताए।
तारकेश्वर नपाका प्रमुख रामेश्वर बोहोराले नगर क्षेत्रमा हुने सवारी चाप व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरी आवश्यक भएकाले ट्राफिक प्रहरीलाई दैनिक कार्यमा सहजता प्रदान गर्न भवन निर्माण गरिएको स्पष्ट पारे।

यसँगै नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार हुने उनले विश्वास व्यक्त गरे।

उपप्रमुख भवानी डोटेलले स्थानीयको माग र आवश्यकताअनुसार सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण हुने बताइन्।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहको समेत उपस्थिति थियो।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्