फाइल तस्बिर

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँका चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

झण्डै २५ लाख जनसंख्या रहेको सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै मात्रा) लगाउने काम सकिएको छ।

‘पहिलो मात्रा लगाउनका लागि केन्द्रबाट खोप आएपछि सुरु हुन्छ’, निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भने, ‘अहिले तत्काल खोप अभियान चलायमान छैन ।’

सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा एक लाख ७५ हजार ४२८ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यसैगरी कञ्चनपुरमा ९३ हजार ५४९, अछाममा ४२ हजार ५३४ ले कोरोनाविरुद्धको खोप लगाएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ।

त्यसैगरी बैतडीमा ४१ हजार ६८८, डोटीमा ३६ हजार ४९४, दार्चुलामा २६ हजार ४७४, बझाङमा २५ हजार ७९१ ले खोप लगाए। डडेल्धुरामा २१ हजार ४३६ र बाजुरामा १२ हजार १८ लाई कोरोनाविरुद्धको खोप लगाइएको कोभिड–१९ सम्र्पक व्यक्ति जोशीले जानकारी दिए।

पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दा यहाँ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत गरी ३८ हजार ३०२ ले खोप लगाएको निर्देशनालयले जनाएको छ।

कोरोनाका कारण सुदूरपश्चिम प्रदेशमा २४५ ले ज्यान गुमाएका छन्।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्