३, ४ र ११ नम्बर पिलरमा नपुगी फर्क्यो सीमा अध्ययन समितिको टोली

सिमकोट – हुम्ला खण्डका चीनसँग पर्ने उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सीमास्तम्भको अध्ययन गरे पनि ३, ४ र ११ नम्बर पिलरमा नपुगी फिर्ता भएको छ।

सिमकोटबाट गाडीमा लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रबार हेलिकप्टरबाट बाँकी तीन वटा पिलरको अध्ययन गर्ने भनिए पनि टाकुलेमा हावा लागेको कारण फिर्ता भएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सीमास्तम्भको सीमा अध्ययन समिति लाप्चा र हिल्सा क्षेत्रका सीमास्तम्भ अध्ययन गरे पनि ३, ४ र ११ नम्बरमा नपुगेरै टोली फिर्ता हुनुपरेको बताए। उनले संयोजक जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो।

यद्यपि, उनले लाप्चा क्षेत्रको १२ नम्बर र हिल्सा क्षेत्रका ५ देखि १० नम्बर सीमास्तम्भ अध्ययन गर्न टोली सफल भएको बताए। शुक्रबार संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानको टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भमा हेलिकप्टरबाट गएर अध्ययन गर्ने कार्य भए पनि त्यो पूरा हुन सकेन।

टोलीकै लागि नेपाली सेनाको हेलिकप्टर हिल्सा पुगेर टोलीलाई लिएर चार हजार मिटर अग्लो स्थानमा पुगेपछि हावाको कारण हेलिकप्टरले उडान भर्न नसक्दा टोली सिमकोट हुँदै सुर्खेततर्फ लागेको छ।

लाप्चा, लिमी र हिल्सा क्षेत्रका सञ्चार सम्पर्क हुन नसक्ने र हेलिकप्टरमा हिल्साबाट फिर्ता आएको टोली सिमकोट बिमानस्थलमा टेकअपपछि सुर्खेतका लागि उडान भरेको कारण अध्ययनबारे केही बाहिर आउन सकेको छैन। त्यससँगै शुक्रबारै टोलीले हेलिकप्टरबाट हुम्ला खण्डमै पर्ने ३ र ४ नम्बर सीमास्तम्भ अध्ययन गर्ने कार्य पनि हुन सकेन।

टोलीमा आचार्यका साथै उमेशराज जोसी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल छन्। जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ। टोलीले नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेबाहेक अन्य कसैलाई पनि लिएको थिएन।

दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको थियो। नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् भने अन्य हिल्साको किट क्षेत्रका ५ (१) र (२), ६ (१) र (२) , ७ (१) र (२), ८ (१) र (२), ९ ( १) र (२) नाम्खा–५ को हिल्सा र किट क्षेत्रमा पर्छन्।

यता नाम्खा– ५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङस्थित ३ नम्बर सीमास्तम्भ छ भने सोही क्षेत्रको नुमुच्चेमा रहेको ४ नम्बर सीमास्तम्भ छ। लाप्चामा चीनले लोलुङ जोङमा बनाएको भौतिक संरचना जसको नेपाली भूमिमा भवन निर्माण गरेको भन्दै विरोध हुँदै अएको थियो। त्यसैगरी, लाप्चामै चीनले एकतर्फी रूपमा पुनर्निर्माण गरेको १२ नम्बर पिलर पनि रहेको र त्यसको पनि टोलीले अध्ययन गर्नेछ।

सो स्थानमा टोली पहिला पुग्ने उनले बताए। त्यसपछि टोली लिमीका स्थानीयसँग छलफल गर्न गाउँमै जानेछ। त्यसपछि भने टोली पाँच हजार दुई सय मिटर अग्लो स्थानमा रहेको टाकुलेको ११ नम्बर पिलरमा पुग्नेछ।

 

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्