भरुवा बन्दुकसहित एक जना पक्राउ

मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिकामा दुई वटा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मिक्लाजुङ–५ का ४३ वर्षीय जगतबहादुर लिम्बू बन्दुकसहित पक्राउ परेका हुन्।

आफ्नै घरमा लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बिहीबार साँझ लिम्बूलाई पक्राउ गरेको हो। प्रहरीले सूचनाका आधारमा घरमा छापा मार्दा भरुवा बन्दुक फेला पारेको हो।

यसक्रममा प्रहरीले लिम्बूलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीन राईले वन्यजन्तुको चोरी सिकारका लागि बन्दुक राखिएको हुन सक्ने आशंका गरिएको बताए।

लिम्बूविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्