दसैँलाई लक्ष्य गरी बैंकहरूले ल्याए अफर

काठमाडौँ– नेपालीहरूको महान् चाड बडादसैँ आउन २८ दिन बाँकी छ। दसैँलाई लक्ष्य गरेर बैंकहरूले पनि अफर ल्याएका छन्।

मेगा बैंक
मेगा बैंक नेपाल लिमिटेडले मुद्दति तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ।

नेपालीहरूको महान् चाड दसैँलाई लक्ष्य गरी बैंकले ग्राहकलाई ‘दसैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो।

ग्राहकले मेगा बैंकको मुद्दति खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउनेछन्। यस्तै, बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउनेछन्। जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो। बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना पनि ल्याएको छ।

‘मेगा महाबचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ। दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने मेगा बैंकले जनाएको छ।
ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा मुद्दती तथा बचत खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन ग्राहकलाई आग्रह गरेको छ।

नबिल बैंक

‘दसैँमा नबिलको सुनौलो उपहार, फिक्स डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ योजना नबिल बैंकले ल्याएकोे छ। ग्राहकले मुद्दती खाता (फिक्स डिपोजिट) मा ९.२६ प्रतिशत ब्याजदर पाउनेछन्। मुद्दती खाताको अवधि १ वर्ष या त्योभन्दा माथि रहने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले पनि मुुद्दती खाता (फिक्स डिपोजिट) योजना दसैँका लागि ल्याएको छ। सो खातामा ०.५० प्रतिशत अतिरिक्त ब्याजदरसहित ग्राहकले ९.५० प्रतिशत ब्याज पाउनेछन्। यससँगै ०.५० प्रतिशत प्रिमियम पाउने बैंकले जनाएको छ। यसको अवधि पनि १ वर्ष या सोभन्दा बढी रहन सक्ने बैंकले जानकारी दिएको छ।

इन्भेष्टमेन्ट बैंक

दसैँको अवसरमा इन्भेष्टमेन्ट बैंकले पनि मुद्दती खाता (फिक्स डिपोजिट) योजना ल्याएको छ। ग्राहकले सो खातामार्फत वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

उक्त खाताको अवधि ३ महिनाभन्दा बढी र मुद्दतीका आधारमा ९० प्रतिशतभन्दा बढी ऋणको सुविधा रहेको छ।

महालक्ष्मी विकास बैंक लिमिटेड

महालक्ष्मी बैंकले पनि दसैँलाई लक्ष्य गरी ‘मुद्दती निक्षेपमा अधिकतम ब्याजदर’ योजना ल्याएको छ। उक्त खाता १ वर्ष वा सोभन्दा बढी अवधिको लागि रहेको छ। सो खातामा ०.५० प्रतिशत अतिरिक्त ब्याजदरसहित ९.८० प्रतिशत ब्याज ग्राहकले पाउनेछन्। सो योजनाका लागि थप जानकारी चाहिएमा इच्छुक ग्राहकले नजिकैको बैंक शाखामा गई या सम्पर्क गरेर बुझ्न सक्नेछन्।

सनराइज बैंक लिमिटेड नेपाल

सन्राइज बैंकले पनि दसैँका लागि ‘महा मुद्दती खाता’ योजना ल्याएको छ। सो खातामा ग्राहकले वार्षिक १०.०७ प्रतिशत ब्याज पाउनेछन्। मुद्दती खाताबारे थप जानकारीका लागि बैंकको नजिकको कार्यालय वा बैंकमा सम्पर्क गरी बुझ्न बैंकले आग्रह गरेको छ।

एनएमबी बैंक लिमिटेड

एनएमबि बैंकले ‘एनएमबि चाड पर्व हर्ष उमंग’ को नारासहित ‘एमएमबि मुद्दती योजना’ ल्याएको छ। सो खाता न्यूनतम १० हजारबाट खोल्न सकिनेछ। सो योजनामा ग्राहकले ०.५ प्रतिशत ब्याजदरसहित वार्षिक ९.५२ प्रतिशत ब्याजदर पाउनेछन्। बैंकले अहिलेसम्मकै अधिकतम ब्याजदरसहित सो योजना ल्याएको जानकारी दिएको छ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्