‘संक्रमितको संख्या घट्दासमेत आइसोलेसनमा स्रोतको दोहन अत्यधिक भइरहेको थियो’

संक्रमणको जोखिम यथावत, धमाधम बन्द हुँदै राजधानीका आइसोलेसन केन्द्र

ललितपुरको बागडोलस्थित जेष्ठ नागरिक आनन्द निकेतन वृद्धाश्रममा सञ्चालित कोभिड आइसोलेसन केन्द्र। अहिले जम्मा १० जना मात्रै संक्रमित बसिरहेका छन्। तस्बिर: गोविन्द लुइँटेल

कोराना संक्रमितको ग्राफ घट्दो भए पनि जोखिम यथावत् रहेको विज्ञहरूले चेतावनी दिइरहेका छन्। तर, संक्रमण रोक्न र बिरामीलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राजधानी काठमाडौंमा खोलिएका आइसोलेसन केन्द्रहरू बन्द हुँदै छन्। चार महिनाअगाडि कोराना संक्रमण उच्च बिन्दुमा पुगेका बेला सरकारको लगानीमा ती आइसोलेसन केन्द्र खोलिएका थिए।

आइसोलेसन केन्द्रमा दुई महिनायता संक्रमित घटिरहँदासमेत बिरामी टनाटन हुँदाझैँ स्रोत परिचालन भइरहेको थियो। आइसोलेसनमा आउने संक्रमित बिरामी शून्य भएपछि बन्द गर्ने निर्णयमा काठमाडौं र ललितपुर महानगरपालिका पुगेका हुन्।

काठमाडौंको सामाखुसीस्थित राधास्वामी आश्रममा सञ्चालन भएको आइसोलेसन केन्द्र बिहीबारदेखि बन्द भएको छ। उक्त आइसोलेसनमा एक हप्ता अगाडिसम्म २५ जना संक्रमित बिरामी थिए। संक्रमित सबै निको भएर घर गएको र आइसोलेसनमा बस्ने नयाँ बिरामी नआएपछि काठमाडौं महानगरपालिकाले बन्द गर्न लागेको हो।

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य सेवा विभागका हरि कुँवरले संक्रमित नै नभएपछि आइसोलेसन बन्द गरिएको देशसञ्चारलाई जानकारी दिए। ‘अब कोराना संक्रमितलाई वीर अस्पतालले सेवा दिनेछ। आगामी दिनमा अस्पताल भरिएर बिरामीले बेड नपाउने खण्डमा मात्रै आइसोलेसन केन्द्र पुनःसञ्चालन गर्नेछौं’, उनले भने।

काठमाडौं नरदेवीस्थित आयुर्वेदिक अस्पताल, क्षेत्रपाटी अस्पताल र सामाखुसीस्थित राधास्वामी आश्रममा सञ्चालित महानगरका तीनवटा आइसोलेसन केन्द्र तीन महिना सञ्चालन भए। नरदेवी र क्षेत्रपाटीका आइसोलेसन केन्द्र यसअगाडि नै बन्द गरिएका थिए।

प्रभावकारितामा प्रश्न !

संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारलाई सहज र सुलभ बनाउन सरकारले आइसोलेसन केन्द्र खडा गरेको हो। स्थानीय तहले त्यसको जिम्मा लिएको छ। तर गरिब विपन्न तथा असहाय संक्रमितलाई आइसोलेसनमा प्राथमिकता दिनुपर्ने नीति भए पनि काठमाडौं र ललितपुर महानगरपालिकाले लक्षित वर्गसम्म सेवा दिन नसकेको गुनासो छ। कोरोनाको संक्रमण उकालो लाग्दा लक्षित वर्गलाई आइसोलेसनको सेवामै सहज पहुँच भएन। आइसोलेनहरूको अवलोकनबाट अधिकांश स्थानीय(आफ्नै घर भएका) हरूले नै लाभ लिएको पाइएको छ।

ललितपुरको पाटनढोकामा ३० वर्षयता भाडामा बसोवास गरिरहेका अर्घाखाँचीका माधवप्रसाद बन्जाडेको असार अन्तिम साता उनका २७ वर्षका छोरा र २२ वर्षकी छोरी कोराना भाइसबाट संक्रमित भए। घरधनीको सहमतिपछि कोठामै उनीहरू आइसोलनमा बसे। तर फ्ल्याटमा बस्ने अर्काे परिवारलाई पनि उनीहरूबाटै संक्रमण भयो।

पछि घरबेटीलाई पनि। काठमाडौंको शंखमूलमा डेरा गरी बस्दै आएका दाङ शान्तिपुरका २९ वर्षीय दानबहादुर चन्द भदौ दोस्रो हप्ता मात्रै कोभिडसँग मिल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गरे। रिपोर्ट पोजिटिभ देखियो। आइसोलेसनमा कसलाई भनेर जाने भन्ने उनी विखलबन्दमा परे। चन्द घरबेटीलाई थाहा नदिई कोठामै आइसोलेसनमा बसे। तर, घरबेटीले कतिवेला केरकार गरी अमानवीय व्यवहार गर्ने हो भन्ने चिन्ता र डरका साथ चन्द्रले कोरोनालाई जिते।

‘संक्रमित सदस्यबाट अन्यलाई सर्यो। भाडामा बस्दा संक्रमित स्वयंले धेरै समस्या भोग्नुपर्ने हुन्छ। साथै, भाडामै बस्ने अन्यको ज्यान पनि जोखिममा पर्ने हुन्छ,’ बञ्जाडेले अनुभव सुनाए। आइसोलेसन सेन्टरमा विपन्न र पहुँच नहुनेले लाभ लिन नसकेका ती दृष्टान्त मात्रै हुन्।

काठमाडौं महानगरभित्रका आइसोलेसनमा वडाको सिफारिस बाध्यात्मक बनाइएको थियो। तर, स्थानीय बेगर अरुलाई पनि सिफारिस गर्दै आएको दाबी महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले गरे। ‘घरबेटीले संक्रमित भएको थाहा नपाउन् भनेर लुकाएरै पनि धेरै बसे। आइसोलेसन छ र सुविधा पाइन्छ भन्ने थाहा नभएकाले पनि लाभ लिन सकेनन्। तर, आइसोलेन केन्द्रमा बस्न कुनै विभेद गरेनौं,’ डंगोलले भने।

ललितपुर महानगरपालिकामा पनि सञ्चालन गरेको दुई वटा आइसोलेसन सेन्टरमध्ये एउटा असोज १ देखि बन्द गर्ने भएको छ। ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित मुख्य सडकबाट ६ सय मिटरको दूरीमा ५० जना क्षमताको आइसोलेसन केन्द्र छ। १६ जना मात्रै संक्रमित उपचार गरिरहेकामा शुक्रबारदेखि उनीहरूलाई घर फिर्ता पठाएर आइसोलेसन केन्द्र बन्द गर्न लागिएको हो।

लकडाउनताका ४५ जनासम्म संक्रमित बसेको उक्त आइसोलेसनमा सेवा लिन आउनेको संख्या न्यून भएपछि असोज १ देखि महानगरपालिकाले बन्द गर्न लागेको ललितपुर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डा. छविन्द्र गैरेले जानकारी दिए।

‘अहिले अस्पतालमा संक्रमित छैनन्। बेड खाली छन्। ‘छिटफुट संख्याका संक्रमित घरमै आइसोलेसनमा छन्। भाडामा बस्नेहरू पनि संक्रमित भइहाले पहिलेजस्तो खासै समस्या पाइएको छैन। भ्याक्सिनको सहजताले संक्रमितले कोरोनालाई जोखिमका रूपमै लिन छाडेको पाइएको छ,’ उनले देशसञ्चारसँग भने।

एक आइएनजिओले सञ्चालन गरेको पोषण केन्द्रको भवनलाई ललितपुर महानगरपालिकाले आइसोलेसन सञ्चालन गरेको थियो।

महानगरपालिकाले करारमा एक जना एमबीबीस डाक्टर नियुक्त गरी खटाएको थियो भने उक्त संस्थामा कार्यरत नर्सहरूले पनि रेखदेख गरिरहेका थिए। ‘सुरुमा स्थानीय नै बढी थिए पछिल्लो चरण भाडामा बस्नेहरूले पनि थाहा पाएर आइरहेका थिए,’ आइसोलेसनको व्यवस्थापन गरिरहेकी सुनिता रिमालले भनिन्। आइसोलेसनबाट निको भएका २ सय २२ जनामध्ये ७० प्रतिशत स्थानीय व्यक्ति रहेको रिमालले जानकारी दिइन्।

नेपाल युथ फाउन्डेसनअन्तर्गतको उक्त भवनमा आइसोलेसन बनेपछि आश्रय लिइरहेका आधा दर्जन बालबालिका पनि कोराना संक्रमित भए। त्यसलगतै पोषण केन्द्र बन्द गरेको संयोजक सुनिता रिमालले बताइन्।

ललितपुरको वागडोलस्थित ज्येष्ठ नागरिक आनन्द निकेतन वृद्धाश्रमलाई वैशाख २५ देखि ललितपुर महानगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेसन बनायो। अपांगमैत्री यो आइसोलनबाट भदौ दोस्रो सातासम्म २ सय ८९ जना निको भएर घर फिर्ता भए। सो आइसोलेसनमा पनि जम्मा १२ जना संक्रमित बिरामी छन्। तर आइसोलेसनबाट डिस्चार्ज भएकाहरू अधिकाँश स्थानिय नै पाइयो।

आइसोलेसनका लागि ललितपुर महानगरपालिकाले एक जना एमविवीएस डाक्टर सहित १५ जना स्वास्थ्यकर्मी उपलब्ध गराएको छ। भवन भने स्थानीय ज्यापू समाजको दिएको छ। संक्रमित व्यक्तिको खाना र खाजाको व्यवस्था एक सामाजिक संस्थाले गरिरहेको छ। ४६ जना क्षमताको उक्त आइसोलेसन अपांगमैत्रीसमेत छ। व्यवस्थापन कार्य गर्दै आएका नवीन्द्र महर्जनका अनुसार हालसम्म जम्मा एक जना अपांगता भएका संक्रमित व्यक्तिले मात्रै त्यहाँ बस्ने अवसर पाएका छन्।

‘महानगरले संक्रमित व्यक्तिलाई निःशुल्क आइसोलेसनको सेवा दिइरहेको बारेमा लक्षित वर्गसम्म सूचना र जानकारी पुर्याउन नसक्दा स्थानीयले मात्रै अवसर पाउने अवस्था सिर्जना भएको हो’, महर्जनले भने।

उक्त आइसोलेसनमा होटलमा झै सिंगल रुम र बाथरुमसहितका कोठा भए पनि आउनेहरूले त्यो सुविधा लिन पाइरहेका छैनन्। एउटै ठूलो फ्ल्याटमा सामाजिक दूरी कायम गरी विभिन्न तलामा ७–१० जनाको सम्म बेडमा बिरामी राखिएको छ। इन्टरनेट, टिभी, खेलकुद तथा मनोसामाजिक परार्मशको सेवा पनि दिइने गरिएको छ।

ललितपुर महानगरभित्र सञ्चालित दुवै आइसोलनको स्वास्थ्य इन्चार्ज डा. छविन्द्र गैरेले भने। ‘आइसोलेसन केन्द्र ती वर्गका लागि कसरी प्रभावकारी र व्यवस्थित बनाउने महानगरपालिकाले गम्भीरतापूर्वक लिएर काम गर्नुपर्ने आवश्यकता छ’, डा. गैरेले भने।

स्रोत उपयोगमा मनोमानी

‘कोभिड १९ संक्रमितको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड र संरचनामा’ २५ जना संक्रमित रहेको अवस्थामा चार जना स्वास्थ्यकर्मी र २ जना सुरक्षाकर्मी हुनुपर्ने व्यवस्था छ। तर, स्रोतको व्यवस्थित परिचलान गर्न महानगरपालिकाहरूले चासो लिएको देखिएन।

८८ वटा अक्सिजन प्लान्ट र ९६ वटा वेड रहेको सामाखुसीको राधास्वामी आश्रमको आइसोलेसन केन्द्रमा काठमाडौं महानगरपालिकाले बिरामीभन्दा चार गुणा बढी जनशक्ति परिचालन गर्‍याे।

नगरपालिकाले स्वास्थकर्मीसहित ७२ जनालाई आइसोलेसन केन्द्रको रेखदेखमा खटाइएको थियो। उक्त आइसोलेसन केन्द्रका लागि काठमाडौं महानगरपालिकाले सुरुमा मासिक ३० लाख बजेट खर्च गर्यो। संक्रमितका लागि खानाको व्यवस्था भने उक्त आश्रमले नै गरेको थियो। बन्द गर्ने अवस्थासम्म पनि मासिक १० लाख रूपैयाँ खर्च भइरहेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्