कांग्रेसको १४औं महाधिवेशनः धरान नगर सभापतिमा किशोर राईको उम्मेदवारी

मोरङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा धरान नगर सभापतिमा किशोर राईले उम्मेदवारी घोषणा गरेका छन्।

धरानमा शुक्रबार आयोजित प्यानलसहितको उम्मेदवारी घोषणा गर्दै राईले नगरमा कांग्रेसलाई बलियो सुदृढ बनाउनेतर्फ केन्द्रित हुने बताए। युवामाझ लोकप्रिय रहेका राईले धरानलाई कांग्रेसको नगर बनाउन आफ्नो उम्मेदवारी दिएको बताएका थिए। उम्मदेवारी घोषणाका क्रममा राईले आफूलाई एकपटक नगरसभापतिमा एकपटक मौका दिन आग्रह गरे।

अर्कोपटक यस भूमिकामा नदेखिने बताउँदै राईले यसपटक मौका दिए आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई झोला बोकेर जिताउने दाबी गरेका थिए। सो क्रममा फुटबलका लागि चर्चित राईले धरानलाई फुटबलमय र मिनी हंगकंग बनाउने भविष्यको लक्ष्य रहेको बताएका थिए।

सो क्रममा सभापतिका प्रत्यासी राईले धरानका जनतामाझ कांग्रेसप्रतिको विश्वास र भरोसालाई बढाउँदै उदार लोकतान्त्रिक चरित्र बनाउने बताए। उनले राजनीतिमा देखिएको भ्रष्टाचार, अराजकता र अनियमिततालाई चिर्न प्रतिबद्ध रहेको बताए।

पार्टी गतिविधि पारदर्शी बनाउनका लागि आ–आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउने नियम लागू गर्ने बताएका राईले ६ महिनामा विशेष सम्मेलन गरिने जानकारी दिए। यसअघि एकपटक नगरको सभापतिको जिम्मेवारीवहन गरिसकेका राई खेलकुद क्षेत्रमा समेत सक्रिय छन्।

कार्यक्रममा नेता मीन विश्वकर्माले कांग्रेसको अधिवेशन प्रतिस्पर्धात्मक भएको बताए। उनले पार्टीभित्रको गुट उपगुट भन्दापनि स्थानीय तह अधिवेशनको रोमाञ्चकतासहित प्रतिस्पर्धामा उभिएको बताएका थिए।

महाधिवेशनबाट आगामी निर्वाचनका लागि धेरै कुरा खुल्ने बताएका उनले जनताको मन कांग्रेसतर्फ बढिसकेको हुँदा मुलुकमा कांग्रेसले जित हासिल गर्ने दाबी गरे। असोज ९ गते हुने अधिवेशनका लागि राईको प्यानलबाट १६ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक भएको थियो। राईको प्यानलमा उपसभापतिमा महेन्द्र तामाङ, राजकुमार थोप्रा(लिम्बू), सचिवमा रुकमणि गौतम, सुमन श्रेष्ठ, सहसचिवमा दलिततर्फबाट प्रतिनिधित्व गर्दै कोपिला रुचाल, गोपाल कार्कीलगायत छन्।

धरानमा यसअघि नगरसभापतिमा श्याम पोखरेलको टोली उम्मेदवारी घोषणा गरेका थिए। उनलाई धरानका मेयर तिलक राईको समर्थन छ। २० वटा वडा रहेको धरानमा करिब ४ हजार ६ क्रियाशील सदस्य छन्।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्