सुदूरपश्चिमको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहराको शपथ

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन्। यस्तै, मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन्। भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त रहेको थियो।

तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपा विवाद हुँदा ओली पक्षमा थिइन्। तर, तामाङले २१ भदौमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि उनलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो।

माओवादी नेतृत्वको सरकारमा एकीकृत समाजवादी पनि सहभागी छ। एकीकृत समाजवादी प्रदेश सभामा ठूलो दल हो। उससँग १४ जना प्रदेश सांसद छन्।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्