नेकपा एकीकृत समाजवादी अदानचुली ५१ सदस्यीय कमिटी गठन

सिमकोट – केही दिनअगाडि मात्र जिल्लास्तरको नेतृत्व पाएका नेकपा (एकीकृत समाजवादी) ले जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा ५१ सदस्यीय पार्टीको गाउँपालिका कमिटी गठन गरेको छ।

जिल्ला नेतृत्व संगठन निर्माणको अभियानमा लागेका बेला उक्त गाउँपालिकामा कमिटी गठन भएको हो। पार्टीको जिल्ला उपाध्यक्ष तीर्थराज रोकायाका अनुसार अदानचुलीमा दोस्रो गाउँपालिकाका रूपमा पार्टीको संगठन निर्माण भएको छ।

उनले शुक्रबार अदानचुलीका संगठित सदस्य अक फडेराको नेतृत्वमा गाउँपालिकास्तरका अगुवा कार्यकर्ताको भेलाले गाउँ कमिटी गठन गरेको बताए।

भेलाले गाउँपालिका कमिटीको अध्यक्षमा नवराज कार्की चयन गरेको छ भने बल बोहरा उपाध्यक्ष, प्रेमबहादुर शाही सचिव र मनिकेश पाण्डे उपसचिवमा चयन गरिएको छ। कमिटीमा ४७ जना सबै वडा र बस्तीलाई समेट्ने गरी कमिटीलाई पूर्णता दिएको जनाइएको छ।

सो कार्यक्रममा नेकपा विप्लव समूहका एक जना कार्यकर्ता रंगवीर शाहीले सो पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गरेका थिए। पार्टीको संगठन निर्माणका लागि पार्टी अध्यक्ष शिवराज शर्मा, प्रदेश कमिटी सदस्य हस्तबहादुर शाही र पार्टी सचिव कमल छत्याल अभियानमा लागेका छन्।

उनीहरू केही दिनअगाडि सिमकोटदेखि हवाईमार्गबाट बाजुरा हुँदै हुम्ला जिल्ला छिरेका थिए। यसअघि उक्त पार्टीले ताँजाकोट गाउँपालिकामा पहिलो गाउँ कमिटी गठन गरेको थियो। यससँगै सो पार्टीले सर्केगार्ड र चंखेली गाउँपालिकामा पनि असोज ५ गतेभित्र कमिटी गठन गरिसक्ने जनाएको छ।

असोज १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्