काष्ठमण्डप पुनर्निर्माण दसैँअघि नै सकिने

फाइल तस्बिर

काठमाडौँ – ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण आगामी दसैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ। अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ। अब चार प्रतिशत काममात्र बाँकी छ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काममात्र बाँकी रहेकाले दसैँसम्म सक्ने लक्ष्य छ । ‘यसबीचमा केही अवरोध नआए ढुक्कसँग दसैँअघि काम सम्पन्न हुनेछ’, अध्यक्ष शाक्यले भने, ‘अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ।’

विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्ण रूपमा क्षति भएको थियो। सातौँ शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। पुनर्निर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो। निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ।

पुनर्निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो। काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो। गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो। सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन्।

उक्त सम्पदा पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ। प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पाेरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्